रुकुमकोट– कान्छो जिल्लाका रुपमा रहेको पूर्वी रुकुममा निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको छ। नेपाली सेनाका सेनानी विकास अधिकारीको कमान्डमा खटिएको सेनाको टोली पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट पुगेको छ।
रोल्पाबाट नेपाली सेनाको खड्क दलको एउटा गुल्म हेलिकोप्टरबाट बन्दोबस्तीका सामग्रीसहित रुकुमकोट पुगेको हो। रुकुमकोटमै ब्यारेक स्थापना गरेर सेनाको टोलीले निर्वाचनसँगै जिल्लाको शान्ति सुरक्षामा समेत सहयोग पुर्याउनेछ।
पूर्वी रुकुममा पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुँदैछ। प्रनिनिधिसभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको पूर्वी रुकुममा ३१ मतदान स्थल र ४२ मतदान केन्द्र छन्। ती मध्ये १७ वटा मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले बताए।
राज्यको पुनःसंरचनाका क्रममा रुकुम जिल्लालाई पूर्वी रुकुम र पश्चिम जिल्ला गरी दुई वटा बनाइएको हो। पश्चिम रुकुममा भने दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुनेछ।
नयाँ जिल्ला बनेसँगै जिल्ला प्रशासन, जिल्ला प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको ब्यारेकसहित ७ वटा सरकारी कार्यालय स्थापना गरेर जनतालाई सरकारले प्रदान गर्ने सेवा र सुविधा सहज रुपमा उपलब्ध गराउन सुरु गरिएको पूर्वी रुकुमका प्रजिअ सापकोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।