फाइल तस्बिर
काठमाडाैं- केन्द्रीय कार्यसमितिपछि पार्टीमा शक्तिशाली निकायको रुपमा रहेको कार्य सम्पादन समितिमा भागवण्डा नमिल्दा कांग्रेसले उक्त समिति गठन गर्न सकेको छैन।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेलबीचमा भागवण्डामा सहमति भएपनि अर्का नेता कृष्णप्रसाद सिटाैला भने असन्तुष्ट रहेकाे बताइएकाे छ। संस्थापन समूह र पौडेल पक्षबीच समितिमा काे-काे व्यक्ति रहने भन्नेमा समेत लगभग सहमति भइसकेकाे एक नेताले बताए। दुई पक्षले आफ्नाे भागवण्डा मिलाए पनि सिटौला पक्षलाई बेवास्ता गर्दा शनिबार बोलाइएको केन्द्रीय समितिको बैठक बस्न सकेन। केन्द्रीय नेताहरु बैठकका लागि केन्द्रीय कार्यालय पुगेपनि केन्द्रीय समितिको बैठक बस्न सकेकाे थिएन।
देउवा कार्यकक्षमा प्रतिशत र नाममा सहमति गर्नका लागि बसेको आन्तरिक छलफल निष्कर्षमा नपुगेपछि बैठक स्थगित गरिएको हाे। भागवण्डा भन्दा निश्चित मापदण्डका आधारमा चयन गरी समिति बनाउनु पर्ने पक्षमा नेताहरु रहेका नेता अर्जुननरसिंह केसीले बताए।
त्यसअघि शुक्रबार साँझ सभापति देउवा निवासमा पूर्व र वर्तमान पदाधिकारीको बैठक बसेको थियो। समितिमा रहने व्यक्तिको संख्यामा दुई पक्षले सहमतिलाई करिब-करिब टुंग्याएका थिए। ६० प्रतिशत देउवा पक्षीय र ४० प्रतिशत पौडेल समूहलाई दिने गरी सभापति देउवाले प्रस्ताव राखेका थिए। दुबै पक्षले अर्को समूहका नेता सिटौला पक्षलाई वेवास्ता गरेपछि सिटौला बैठकबाट बाहिरिएका थिए।
पदाधिकारीसहित केन्द्रीय समितिबाट थप २२ सदस्य गरी २९ जनाको कार्य सम्पादन समिति बन्ने प्रावधान छ। पदाधिकारीमा बहुमत देउवा पक्षका नेताहरु छन्। पदाधिकारी, केन्द्रीय समिति, अनुशासन समितिमा स्पष्ट बहुमतमा रहेका देउवाले सम्पादन समितिमा पनि बहुमत सदस्य आफ्नो पक्षका चयन गरी गठन गर्न लागेका हुन्।
पौडेल पक्षबाट पदाधिकारीमा रहेका महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवसहित १० जना सदस्यको नाम उपलब्ध गराउन देउवाले अर्को समूहका नेता पौडेललाई आग्रह गरेका छन्। ४० प्रतिशत भागमा परेका पौडेलले १३ जना सदस्यको दाबी गरेका छन्।
संस्थापन इतर समूहका सबै सदस्यलाई १३ जनामा (सिटौला सहित) समेट्न देउवाको प्रयास छ। पौडेल समूहले आफूलाई प्राप्त संख्या सिटौला समूहलाई बाड्न तयार नभएसँगै देउवाले आफ्नो समूहबाट सिटौलालाई समेट्न खोजेका हुन्।
केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको समयमा यसै समितिले निर्णय लिन सक्ने भएकाले याे केन्द्रीय समितिपछिको शक्तिशाली निकाय हो। सम्पादन समितिले केन्द्रीय कार्यसमिति बस्न नसकेको अवस्थामा कार्यहरु सम्पादन गर्दछ। शक्तिशाली समिति भएकाले यस समितिमा सम्मिलित हुन आकांक्षी नेताहरु धेरै छन्।
देउवा पक्षबाट गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, प्रदीप गिरि, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, मानबहादुर विश्वकर्मा, रमेश रिजाल, फरमुल्ला मन्सुर, एनपी साउद, आनन्द ढुंगाना, भीष्मराज आङदेम्बे, जीवनबहादुर शाही, सुरेन्द्र पाण्डे, पुष्पा भुसाल, डा नारायण खड्का, अजयकुमार चौरासिया, डिला संग्रौला लगायतका नेता आकांक्षी देखिएका छन्। यसै समूहमा रहेका मोहन बस्नेत र मीन विश्वकर्मा पनि सम्पादन समितिका आकांक्षी रहेकाे बताइएकाे छ।
पौडेल समूहबाट पनि आकांक्षीहरुको संख्या धेरै छ। प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मीनेन्द्र रिजाल, सुजाता कोइराला, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, चन्द्र भण्डारीलगायतका नेता समितिका लागि नाम चलेका नेताहरुमा पर्दछन्।
तेश्रो धारका नेताका रुपमा चिनिएका सिटौलाले उनी मात्रै सम्पादन समितिमा परेर चित्त बुझाएका छैनन्। यसअघि पौडेल समूहसँग देउवाका विरुद्धमा एकबद्ध भएका उनी सिटौला समूहबाट प्रतिनिधित्व गर्ने भएका छन्। सिटौलाले थप एक जना सदस्य प्राप्त गरेमा गगन थापा, प्रदिप पौडेल, भिमसेनदास प्रधान र उमाकान्त चौधरी मध्येबाट एक जना थपिनेछन्।
यस समितिले गरेको निर्णय भने केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने हुन्छ। कार्य सम्पादन समितिले पार्टीको केन्द्रीय कार्यालयअन्तर्गत रहेका सम्पूर्ण विभागहरुको समिक्षा, संसदीय दलको कार्यसमिति, विषयगत संयोजकहरुसँग विचार-विमर्श गर्नेछ।
चुनाव अघि बनाइएको समिति विधान विपरित भएको भन्दै बैसाखमा विघटन गरिएको थियो। विधानतः २९ जना हुनुपर्नेमा ३२ जनाको सम्पादन समिति बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।