रसुवा– प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रसुवामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेको छैन।
अन्य जिल्लामा मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँमा खटिए पनि निर्वाचन आउन १५ दिन बाँकी रहँदा रसुवामा भने अझैसम्म सञ्चालन हुन नसकेको हो। निर्वाचन सामग्री नआइपुगेकाले कार्यक्रम सञ्चालन हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कार्यक्रम सञ्चालनको तयारी गर्दैगर्दा निर्वाचन आयोगले केही समय नगर्न पत्र पठाएपछि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकारी नबिन खालिङले बताए।
मतदाता शिक्षा कार्यक्रम कात्तिक १३ गतेबाट सञ्चालन हुने बताइएको थियो । कार्यक्रम स्थगित भएपछि तालिम लिन आएका एक दर्जनभन्दा बढी निर्वाचन शिक्षा कार्यकर्ता फर्किएका थिए । समयमै तालिम सञ्चालन गर्न नसक्दा छनोट गरिएका ४५ जना कार्यकर्ता कामविहीन भएका छन्।
यसैबीच निर्वाचन कार्यालयले आयोगबाट अनुमति पाएसँगै कात्तिक २५ गतेबाट मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने जनाएको छ। निर्वाचन शिक्षाको साम्रगी समयमै उपलब्ध हुन नसकेपछि कार्यक्रम करिब दुई सातापछि धकेलिएको हो। कार्यालयका अनुसार कार्यक्रम कात्तिक २५ देखि ३० गतेसम्म सञ्चालन गर्ने कार्ययोजना तय गरिएको छ।
मतदाता शिक्षा कार्यकर्ता, कार्यकारी अधिकृत, पत्रकार, मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको लागि निर्वाचन सम्बन्धी तालिम दिइने निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन शिक्षा कार्यकर्ता समयमा नै परिचालन गर्न नसक्दा बदर मत बढ्ने जोखिम बढेको छ। तर, जिल्ला निर्वाचन अधिकारी खालिङ भने मतपत्र तीन वटा हुने भए पनि स्थानीय तहको निर्वाचनमा भन्दा अहिले मतदान गर्न सहज हुने भएकाले बदर मत नबढ्ने बताउँछन्।
स्थानीय तहको निर्वाचनमा समयमै कार्यकर्ता परिचालन गर्न नसक्दा बदर मतको संख्या अत्याधिक रहेको थियो । ३४ मतदानस्थल तथा ४५ वटा मतदान केन्द्र रहेको रसुवामा सोही संख्यामा मतदाता शिक्षा कार्यकर्ता खटाउने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।