मनाङ- मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौं पुगेका छन्।
मनाङका आधाभन्दा बढी मतदाता काठमाडौंमै बसोबास गर्ने भएकाले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरु मतदाताको मन जित्न काठमाडौं गएका हुन्। खासगरी माथिल्लो मनाङ र नार फुका मानिस व्यापार व्यवसायका लागि मनाङ छाडी काठमाडौं बसोबास गर्दै आएका छन्।
कांग्रेसका प्रतिनिधिसभातर्फका उम्मेदवार टेकबहादुर गुरुङ, प्रदेश ‘क’ का चिन्तबहादुर घले र प्रदेश ‘ख’ का कर्म गुरुङ लगायतका प्रचार टोली अहिले काठमाडौंमा प्रचारप्रसारमा खटिरहेको कांग्रेसका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए।
यस्तै, एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ, प्रदेश ‘क’ का धोर्जे ढिन्दुल गुरुङ लगायतका टोली भने प्रचारप्रसार सकेर मनाङ फर्किएको एमाले पार्टी स्रोतले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।