कञ्चनपुर- वाम गठबन्धनमा आबद्ध नेकपा एमालेले बागी उम्मेदवारलाई मनाउन अन्तिम कसरत गरिरहेको छ।
गठबन्धनका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका नेताले फिर्ता नलिएपछि बागी उम्मेदवारलाई मनाउन गठबन्धनका नेता दौडधुपमा लागेका हुन्।
एमालेका नेताहरू अन्तिम छलफल गरी बागीलाई मनाउन र आधिकारिक उम्मेदवारलाई समर्थन गरी विज्ञप्ति निकाल्ने आशामा छलफल गरिरहेका छन्।
एमाले जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्रप्रसाद जोशी, जिल्ला सदस्य कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१० का पूर्व वडाध्यक्ष हीरासिंह विष्टले बागी उम्मेदवारी दिएका छन्।
एकताको सन्देश दिन तीन उम्मेदवार एउटै मालामा
वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रले एकताको सन्देश दिन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई एउटै माला लगाइदिएका छन्।
एकताको सन्देश गाउँ–गाउँसम्म पुर्याउन कार्यकर्ताले प्रतिनिधिसभाका उम्मेदवार विना मगर र प्रदेशसभा उम्मेदवार तारा लामा तामाङ र कुलवीर चौधरीलाई एउटै माला लगाइदिएका हुन्।
दुवै पार्टी नेतृत्वले गरेको एकता तयारी र चुनावी तालमेलपछि पहिलो पटक भएको कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा संयुक्त कार्यकर्ता भेलामा उत्साह देखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।