काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि युरोपेली संघको निर्वाचन पर्यवेक्षण टोली परिचालित भएको छ। दुवै चरणका निर्वाचनमा एक सयभन्दा बढी पर्यवेक्षक रहने बताइएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै युरोपेली संसदमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद तथा प्रमुख निर्वाचन पर्यवेक्षक जेल्याना जेभ्कोले टोली परिचालनको घोषणा गरेका हुन्।
प्रमुख पर्यवेक्षक जोभ्कोले मंसिर १० र २१ गते हुने निर्वाचन नेपालको लोकतान्त्रिक विकासको महत्वपूर्ण चरणका रुपमा रहेको बताउँदै आफ्नो उपस्थितिले समावेशी र पारदर्शी निर्वाचन प्रक्रियामा योगदान गर्ने अपेक्षा व्यक्त गरे।
नेपालको कानुन र नेपाल हस्ताक्षरकर्ता रहेका लोकतान्त्रिक निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतिबद्धतालाई निर्वाचनले कति परिचालन गरेको छ भनेर मूल्यांकन गर्नु आफूहरुको कार्यादेश रहेको उनले बताए।
'पर्यवेक्षक सबै प्रदेशमा पुग्नेछन् । निर्वाचन अधिकारी, उम्मेदवार र नागरिक समाजका प्रतिनिधिसँग भेट गर्नेछन् र काठमाडौंस्थित मुख्य टोलीलाई पर्यवेक्षण प्रतिवेदन बुझाउनेछन्', उनले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।