टोक्यो (एजेन्सी)– जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीचको व्यापारिक सम्बन्ध जापानको पक्षमा रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
एसियाको १२ दिने भ्रमणको सुरुवातमा जापान भ्रमणमा रहेका ट्रम्पले यस्तो आक्रोश पोखेका हुन्। अमेरिकाले जापानसँगको व्यापारमा कैयौं वर्षदेखि घाटा खेपिरहेको उनको भनाइ थियो।
जापानको राजधानी टोक्योमा सोमबार व्यवसायी र उद्यमीहरूसँग कुरा गर्दै ट्रम्पले बितेका दशकमा अमेरिकाभन्दा जापान व्यापारमा अगाडि रहेको बताए। उनले दुवै देशका आर्थिक सम्बन्ध निष्पक्ष र दुवैलाई फाइदाजनक हुनुपर्ने आवश्यकता औंल्याए।
‘अमेरिका खुला र परस्परमा फाइदा हुने व्यापार गर्न चाहन्छ’, अमेरिकी र जापानी अधिकारीहरूसँगको कुराकानीमा ट्रम्पले भने, ‘जापानसँग अमेरिकाको व्यापार यस्तो छैन । तर, मलाई विश्वास छ, छिटै यसमा सुधार हुनेछ।’
त्यसका लागि अमेरिकाले प्रक्रिया थालिसकेको उनले बताए । साथै, उनले अमेरिकासँग सामरिक उपकरण खरिद गरेकोमा जापानको प्रशंसा गरे। चीनपछि अमेरिकाको दोस्रो ठूलो व्यापारिक साझेदार जापान हो।
ट्रम्पको एसिया भ्रमणमा उत्तर कोरिया र व्यापार नै मुख्य मुद्दा हुने अनुमान गरिएको छ।
जापानसँगको व्यापार
अमेरिकाको अर्थ विभागका अनुसार, सन् २०१६ मा जापानले अमेरिकासँग नियमितभन्दा ६९ अर्ब अमेरिकी डलर बढी व्यापार गरेको थियो।
अमेरिका क्षेत्रीय खुला व्यापार सन्धिबाट हटेपछि दुवै देश व्यापारसम्बन्धी नयाँ सन्धि गर्न प्रयासरत छन्। तर, सन्धिमा सहभागी ११ देश भने अमेरिका बिना नै अघि बढ्न खोजिरहेका छन्।
अमेरिकामा कार उत्पादन बढाउन आग्रह
राष्ट्रपति ट्रम्पले जापानका कार उत्पादक कम्पनीहरूसँग अमेरिकामा नै बढी कार उत्पादन गर्न आग्रह गरे। तर, एक तथ्यांकले भने जापानी कम्पनीहरुले अमेरिकामै बढी कार उत्पादन गर्ने तथ्यांक प्रस्तुत गरेको छ।
गैरनाफामूलक व्यापार समूह जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनको तथ्यांक अनुसार जापानी कम्पनीहरूले अधिकांश कार अमेरिकामा नै उत्पादन गर्छन्।
एसोसिएसनका अनुसार, सन् २०१६ मा अमेरिकामा बिक्री हुने जापानी ब्रान्डेड कारमध्ये ३३ प्रतिशत कार उत्तर अमेरिकामा नै निर्माण गरिएको थियो। गत वर्ष अमेरिकामा करिब ४० लाख कार र ४७ लाख इञ्जिन निर्माण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।