एजेन्सी– एक इरानी दम्पतीको झगडाका कारण कतार एयरवेजको विमानले आपतकालीन अवतरण गर्नुपरेको छ।
दोहाबाट इन्डोनेसियाको बालीतर्फ उडेको विमान भारतको चेन्नईमा आपतकालीन अवतरण गर्न बाध्य भएको हो। इरानी जोडी छुट्टी मनाउन बाली जाँदै गर्दा उनीहरुबीच चर्काचर्की परेको थियो।
विमान उडिरहेका बेला पत्नीले पतिको मोबाइल हेर्दा उनको अर्कै युवतीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएकी थिइन्। त्यसपछि निकै क्रुद्ध भएकी उनले पतिसँग विवाद गर्दै विमानभित्र कोकोहोलो मच्चाइन्।
साथमा सानो छोरा पनि रहेको दम्पतीबीच निकै रडाको मच्चिएपछि कतार एयरवेजका उडान कर्मचारीले महिलालाई शान्त पार्न अनेक प्रयास गरे । तर, उनको रिसको पारो नझरेपछि अन्ततः विमान चेन्नईमा अवतरण गर्न बाध्य भएको थियो । त्यो दम्पतीलाई चेन्नईमा झारेर जहाज आफ्नो गन्तव्य बालीतर्फ उडेको थियो।
पति निदाएका बेला ती महिलाले पतिको बूढीऔंलाको छाप लगाएर मोबाइल अनलक गरी लभ अफेयरबारे थाहा पाएकी थिइन्।
इरानी दम्पतीसँग भारतको भीसा नभएकाले उनीहरूलाई दोहा फिर्ता पठाइएको हिन्दुस्तान टाइम्सले जनाए पनि खासमा उनीहरूलाई मलेसिया नै पठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।