बुटवल- प्रदेश ५ सरकारले बारा र पर्सा जिल्लामा भएको हावाहुरीका पीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गत आइतबारको हावाहुरीबाट घाइते तथा घरबारबिहीन बनेका पीडितहरुका लागि प्रदेश ५ सरकारले १ करोड रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्री बैजनाथ चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा आर्थिक योजना मन्त्रालयले उक्त सहयोग प्रदान गर्ने बताए।
यस्तै सोही बैठकले मन्त्रिपरिषद् बैठकले विपक्षी दलका नेता बलदेव शर्मा पोखरेललाई ५ लाख रुपैयाँ उपचार खर्च सहयोग गर्ने निर्णय गरेको छ। प्रदेशसभाका सबैभन्दा वृद्ध सदस्य शर्मा अहिले क्यान्सर रोग लागेर काठमाडौंस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत छन्।
साथै बैठकले अन्य केही महत्वपूर्ण निर्णयसमेत गरेको छ। बैठकबाट प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत भएको छ।
यता बाँकेको खजुरा गाउँपालिकाको केन्द्र बागेश्वरी-३, बागमती नगरमा सार्ने निर्णयसमेत भएको प्रवक्ता चौधरीले जमनकारी दिए। बैठकले प्रदेशसभा सदस्यहरूको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा कार्यान्वयनमा ल्याउने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।