काठमाडौं- महानगर र नगरवासीबीचको सम्बन्ध पारदर्शी एवं सूचना प्रविधिमैत्री बनाउन काठमाडौँ महानगरपालिकाले औपचारिक रुपमा ‘काठमाडौँ मेट्रो’ एपको सुरुवात गरेको छ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार एपको शुभारम्भ गर्दै प्रविधिको उचित प्रयोगमार्फत कामपाले गरेका विकास निर्माणका कार्यलाई छिटो र यथार्थ रुपमा जनतामा लैजान एपको भूमिका महत्वपूर्ण रहने बताए।
कामपाका सेवाग्राहीले सेवा सुविधाका बारे घरमै बसेर बुझ्न र महानगरको अधिकार, दायित्व र कामको गतिविधिबारे प्रस्ट पार्न एपको भूमिका प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।
उपप्रमुख हरिप्रभा खड्गीले प्रविधिको प्रयोगबिना आजका कामकाज सरल नहुने भएकाले सहजता र पारदर्शिताका लागि प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिइन्।
महानगरले १७ हजार ४४३ वटा मोबाइलमा एकै पटक सूचना प्रवाह गर्न सक्ने समूह सन्देश प्रविधिको समेत विकास गरिसकेको छ। यो प्रविधिको मोबाइल प्रयोगकर्ताले कामपा सुरुवात गरेको यस एपको प्रयोग गरी महानगरको सम्पूर्ण गतिविधिबारे सजिलै जानकारी लिन सक्नेछन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।