बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि तीन दिनसम्म चीनको राजकीय भ्रमण गर्दैछन्। चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनेछन्।
अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले राजकीय भ्रमणका लागि आवश्यक तयारी भएको बताएका छन्। ट्रम्प र प्रथम महिलालाई चिनियाँ इतिहास, संस्कृति र जनताबारे जानकारी गराउन ‘केही विशेष तयारी’ रहेको समेत उनले बताए। 'ट्रम्पको चीन बसाइका क्रममा दुई मुलुकको विकास र आपसी सम्बन्ध विस्तारका लागि अति महत्वपूर्ण उच्च तहको रणनीतिक छलफलका लागि प्रशस्त समय मिलाइएको छ,' उनले जानकारी दिए।
रातो कार्पेट समारोह, औपचारिक भेटवार्ता, भोजबाहेक चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षीबीच केही अनौपचारिक विचार विमर्शसमेत हुनेछन्।
शक्तिशाली मुलुकका यी दुई राष्ट्रपतिले अमेरिकाको फ्लोरिडामा गत अप्रिलमा सात घन्टा लामा वार्तालाप गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङमा रहँदा चीन र अमेरिकाबीचको व्यापारिक सहकार्य र कोरियाली प्रायदीपमा देखिएको सुरक्षा चासोका विषयमा पनि कुरा गर्नेछन्।
स्वस्थ आर्थिक तथा व्यापारिक सम्बन्ध दुई मुलुकबीचको सुमधुर सम्बन्धको आधार रहने चीनले जनाएको छ। अमेरिका र चीनबीच सन् १९७९ मा २.५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१६ मा पाँच खर्ब २० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको, चीनको वाणिज्य मन्त्रालयले जनाएको छ।
चीन–अमेरिका सम्बन्ध नयाँ युगमा
चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ सम्मेलनपछि हुन लागेको अमेरिकी राष्ट्रपतिको भ्रमण दुई देशको परस्पर फाइदाका लागि हुने चिनियाँ विज्ञहरुले बताएका छन्।
'भर्खरै सकिएको चिनियाँ कँग्रेसले चीनको आगामी कुटनीतिको रूपरेखा तयार गरेको छ,' चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका जिउदोङले भने।
चीन–अमेरिका सम्बन्ध अन्तर्राष्ट्रिय सम्बन्ध र मानवताका लागि समुदायको साझा भविष्यका लागि निर्णायक रहेको जिदोङले जोड दिए। ट्रम्पले वासिङ्टनको नेतृत्व सम्हालेपछि दुवै नेताबीच निकटको सम्बन्ध स्थापित भएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।