राजविराज– नागरिकतामा तोक लगाउने र राहदानी सिफारिस गर्ने काममा प्रमुख जिल्ला अधिकाी (सिडिओ) अल्मलिएपछि सप्तरीको शान्तिसुरक्षा लगायतका महत्वपूर्ण काम ओझेलमा परेका छन्।
दरबन्दी अनुसारका कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालयमा यतिबेला सेवाग्राहीको भिड देख्न सकिन्छ। अन्य काम छाेडेर यीनै काममा स्वयम् सिडिओ लाग्दा समेत कार्यालयमा भिड कम हुन सकेकाे छेन।
कर्मचारीहरुको तालुकदार निकाय जिल्ला प्रशासन कार्यालयले नै कर्मचारी व्यवस्थापनमा ध्यान पुर्याउन नसकेपछि अन्य कार्यालयहरुका काम समेत प्रभावित भइरहेका छन्।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा सिडिओ (सहसचिव) सहित ३३ जनाको दरबन्दी छ। तर, सहायक सिडिओको दरबन्दी समेत लामो समयदेखि खाली छ। प्रशासन कार्यालयमा कामका हिसाबले प्रशासकीय अधिकृतको दरबन्दी महत्वपूर्ण मानिन्छ तर, दरबन्दीमा भएका ३ मध्ये २ जना अधिकृत उपलब्ध छैनन्।

नायब सुब्बा १० मध्ये ३ र खरिदार ५ मध्ये २ जनाको दरबन्दी पनि खाली छ। लामो समयदेखि १ जना अधिकृत र ३ जना खरिदारको भरमा कार्यालय सञ्चालन गर्न अप्ठेराे परेको सिडिओ सुरेन्द्र पौडेलले बताए। ‘एक जना अधिकृतको कोठामा दिनभरी लाइन बस्दा पनि सेवाग्राहीले पालो नपाउने अवस्था आयो’, नागरिकता फारममा तोक लगाउँदै पौडेलले भने, ‘सेवाग्राहीको धैर्यता विष्फोट हुन नदिन अन्य काम छोडेर कार्यालयमा केन्द्रित हुनु परिरहेकाे छ।’
सहायक सिडिओ, २ अधिकृत र ३ जना खरिदारसहितका कर्मचारी कम भएपछि पौडेल यतिबेला नागरिकताको फारम, राहदानी सिफारिस, प्रतिलिपि लगायतमा तोक लगाउन व्यस्त छन्। उनी कार्यालयमा व्यस्त भएपछि शान्तिसुरक्षा, एसइई परीक्षा, बजार अनुगमन, अन्य सरकारी कार्यालयको निरीक्षण, दैविप्रकोपको पूर्व तयारी, सुशासनका गतिविधि लगायतका काम प्रभावित भएका छन्।

यसबाहेक सामाजिक गतिविधि र विभिन्न समितिको संयोजकका रुपमा गर्नुपर्ने कामसमेत प्रभावित भएको उनले बताए। कर्मचारी अभाव हुँदा काम प्रभावित भएको विषमा गृह मन्त्रालयमा जानकारी गराउँदा २ जना अधिकृत चाँडै पठाउने आश्वासन पाएको पौडेलले जानकारी दिए।
‘आवश्यकता अनुसारका कर्मचारी पदपूर्ति नभएसम्म कार्यालय छोड्ने अवस्था छैन’, उनले भने, ‘एसइई फेरि सुरु भएको छ, कार्यालयमा भएका कर्मचारी परिक्षामा केन्द्रित हुन थालेपछि कार्यालयको काम भद्रगोल हुने चिन्ता छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।