काठमाडौं– काठमाडौंको लाजिम्पाटमा आलगाली हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
लाजिम्पाटस्थित नील सरस्वती चैतन्य मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा शुक्रबार राति आगो लागेको थियो। आगो लागेपछि उक्त घरमा भाडामा बस्ने ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु भएका थापा शंकर होटलमा सुरक्षा गार्डको काम गर्ने गरेको प्रहरीले जनाएको छ।
आगलागीमा बर्दिया राजापुर ९ का ३२ वर्षीय विवेक शाही र उनकी श्रीमती २५ वर्षीया गंगा घाइते भएका छन्। उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। गंगाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
राति १२ बजे लागेको आगो प्रहरीले केही घन्टामै नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।