भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गरेका छन्।
आफू भक्तपुरमै हुर्केको र पढेको भन्दै ढुंगानाले टाढाको नसोचिदिन आग्रह गरे । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको अन्तरक्रियामा ढुंगानाले भने, 'यहाँ मेरो जग्गा-जमिन छ, त्यसैले म पर्यटक वा पाहुना उम्मेदवार होइन।'
देशभर वाम गठबन्धन बनेका बेलामा भक्तपुरमा सो गठबन्धनसँग लड्न सक्ने मान्छेको खोजी गर्दा आफू उम्मेदवार बन्नुपरेको ढुंगानाले बताए।
'वाम गठबन्धनसँग लड्न सक्ने व्यक्ति म मात्रै हो भनेर पार्टीले मूल्यांकन गरेर पठायो । उम्मेदवार बन्न भक्तपुरकै बासिन्दा हुनुपर्छ भन्ने छैन', उनले भने।
कार्यक्रममा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा एमालेका महेश बस्नेतले आफ्ना पिताका उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्य भएको बताए ।
नेता बस्नेतले लोकतन्त्रमा जित-हारभन्दा पनि स्वच्छ प्रतिस्पर्धा महत्वपूर्ण कुरा भएकोमा जोड दिए । ०७० सालको संविधानसभा निर्वाचनमा आफूले पराजय भोगेपछि भक्तपुरको सेवामा समर्पित भएकाले त्यसको मूल्यांकन हुने उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।