जनकपुर– धनुषा र महोत्तरीको सीमा हुँदै बग्ने रातु खोलाबाट मापदण्ड मिचेर बालुवा–गिट्टीको उत्खन्नन भइरहे पनि नियामक निकाय मौन छ। ठेकेदार कम्पनीले सरकारले तोकेको ३ फिटसम्मको मापदण्डलाई लत्याउँदै खोलाबाट ५ देखि २५ फिटसम्म गहिरो खनेर बालुवा–गिट्टी झिक्ने क्रम जारी छ।
रातु नदी उत्खनन रोक्न स्थानीयले सरकारसँग माग गरेका छन्। स्थानीय तहले ठेक्का सम्झौतामा खोलाको उत्खनन सुम्पे पनि ठेकेदार कम्पनीले सरकारी मापदण्ड मिचेका हुन्। सरकारी मापदण्डअनुरूप ३ फिटसम्म गहिरो बनाएर खन्न पाउने व्यवस्था छ। तर क्रसर उद्योग तथा ठेकेदारहरूले रातु खोलामा ५ फिटदेखि २५ फिटसम्मको गहिरो खाल्डा बनाएका छन्।
खोला जथाभावी उत्खनन भइरहेको भन्दै नियन्त्रण गर्न स्थानीयले दबाब दिए पनि ठेकेदार र क्रसर व्यवसायीसँग मिलेका जनप्रतिनिधिले भने स्थानीयको दबाबलाई नसुनेझैं गरिरहेका छन्।
धनुषा र महोत्तरीलाई जोड्ने पूर्वपश्चिम राजमार्ग अर्न्तगतको रातु पुलदेखि खोलाको दक्षिणी क्षेत्रमा भइरहेको जथाभावी उत्खननले महोत्तरीको बर्दिवास, औरही, भंगाहा, गौशाला र जलेश्वरसहित १० स्थानीय तहका ४० भन्दा बढी बस्ती जोखिममा छन्।

रातु खोलामा भइरहेको उत्खननले जलाधार र चुरे क्षेत्रमा जोखिम बढेको बर्दिवासका नेकपाका नेता डाकराज पोखरेलले बताए। ‘जनतालाई अन्याय गर्दै रातुखोला खनिएको छ,’ उनले भने, ‘खोला उत्खनन हुनु स्थानीयका लागि ठूलो घाटा हो।’ जथाभावी उत्खनन कायमै रहे चुरेसमेत बगेर मधेसका बस्ती तहसनहस र कृषि क्षेत्र पनि चौपट हुने उनले बताए।
खोलामा उत्खनन गरिरहेका यान्त्रिक उपकण एक्स्काभेटर र टिपर मंगलबार बर्दिवास ६ र ७ का स्थानीयले नियन्त्रणमा लिएका थिए। खोला खन्न नदिने भन्दै स्थानीय उत्रिएपछि बर्दिवास नगरपालिकाका मेयर बिदुरकुमार कार्कीले अब उत्खनन कामको सघन अनुगमन गरिने आश्वान दिएका थिए।

यसअघि पनि जिल्ला समन्वय समिति महोत्तरीका पधादिकारी, नगरप्रमुख र सुरक्षा निकायसहितको टोलीले खोला अनुगमन नगरेका होइनन् तर बालुवा–गिट्टीको जथाभावी उत्खनन रोकिएको छैन।
रातु खोलामा अब कुनै अवस्थामा उत्खनन गर्न नदिने अडान स्थानीयको छ। बर्दिवास ६ की राधा कुमाईले आफ्नो बस्तीलाई क्षति हुने गरी उत्खनन गरिएमा ज्यानधनको माया नगरी आन्दोलन गर्ने बताइन्।
यता उद्योगी तथा क्रसर व्यवसायीहरूले भने रातु खोलामा मापदण्ड विपरीत नदिजन्य पदार्थ ननिकालिएको दाबी गर्छन्। पन्चधुरामाई ढुंगागिट्टी वासिङ सेन्टरका सञ्चालक प्रल्हाद क्षेत्रीले बर्दिवास नगरपालिका क्षेत्रभित्र सञ्चालित कुनै पनि क्रसर उद्योगले मापदण्ड विपरीत काम नगरेको दाबी गरे।
बस्तीमा कुनै किसिमको जोखिम हुँदैन भनेर विज्ञले तयार पारेको रिपोर्टका आधारमा प्रदेश सरकारसँग समन्वय गरेर टेन्डर आह्वान गरी रातु खोला ठेक्का लगाइएको बर्दिवास नगरपलिकाका मेयर कार्कीले दाबी गरे। महोत्तरीभित्र बर्दिवास, गौशाला, भंगाहा र औरही नगरपालिकाभित्र ५० झन्दा बढी क्रसर सञ्चालनमा छन्।

यसअघि गत माघमा जिल्ला समन्वय समितिले गरेको अनुगमनमा धेरैजसो क्रसरले सरकारी मापदण्ड मिचेको पाइएपछि बन्द गर्न निर्देशन दिएको थियो। तर, क्रसर सञ्चालकले त्यो निर्देशन टेरेनन्। खोलाको उत्खनन जारी राखे।
जिल्ला समन्वय समितिका सभापति सुरेशप्रसाद सिंहले खोलाको जथाभावी उत्खनन बन्द गरिने बताए। यसका लागि क्रसर सञ्चालन भएका क्षेत्रमा अनुगमन भइरहेको उनको भनाइ छ।
अनुगमन समितिले बिहीबार अनुगमन गर्दा मापदण्डविपरीत नै उत्खन्न भइरहेको पाइएको जिसस महोत्तरीका सभापति सिंहले बताए। अनुगमनको समयमै आएका ३ टिपरले नदीजन्य पदार्थ बिनाकुनै पुर्जी लगिरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बर्दिवास नगरपालिकालाई जिम्मा लगाएको उनले बताए।
अनुगमन कार्यदलका संयोजक सुदिप झाले यस सम्बन्धमा चैत्र २२ गते बर्दिवास गौशाला र भंगहाका मेयरहरु सहित अनुगमन समितिको बैठक बसी नियमन तथा नियन्यत्रणलाई प्रभावकारी बनाउन रणनीति बनाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।