काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी ४ संस्थालाई अनुमति दिएको छ।
आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १ सय ४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति दिइएको हो। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दीगो विकास समाज लैनचौरले सबैभन्दा कम २० पर्यवेक्षक खटाउन अनुमति पाएका छन्।
पर्यवेक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति प्रदान गरिएको छ। लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।
अन्तर्राष्ट्रिय संस्थामा द कार्टर सेन्टर, युरोपेली संघ, एसियन नेटवर्क फर फ्रि इलेक्सन र अनकावा इन्टरनेसले पर्यवेक्षणको अनुमति पाएका हुन्। लामो अवधिमा युरोपेली संघले १९ र कार्टर सेन्टरले पाँच पर्यवेक्षक खटाउनेछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।