रसुवा– मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा जुटेका राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन गर्न थालेपछि रसुवा प्रशासनले ध्यानाकर्षण गराएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा सर्वदलीय बैठक बोलाएर जिल्लाका राजनीतिक दल तथा उम्मेदवारको ध्यानाकर्षण गराइएको हो।
चुनाव नजिकिएसँगै घरदैलो अभियानमा जुटेका जिल्लाका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले अत्यधिक गाडीको प्रयोग गर्ने, ठूल्ठूला पोस्टर र पम्प्लेट टाँस्ने, विकास-निर्माणको काम सुरु गर्ने र बालबालिकाको प्रयोग गरिरहेको लगायत गुनासो आएपछि आचारसंहिताको पूर्ण पालना गर्न ध्यानाकर्षण गराएको प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताइन्।
चुनाव नजिकिँदै जाँदा भड्किलो तरिकाले चुनाव प्रचारप्रसार गर्न थालेपछि एक गठबन्धनले अर्कोलाई आरोप–प्रत्यारोप लगाएका छन्।
वाम गठबन्धनले लोकतान्त्रिक मोर्चाले पर्चा पम्प्लेट र झन्डाको आकार तोकिएको भन्दा बढी र ५० भन्दा बढी गाडी प्रयोग गरेर आचारसंहिता उल्लघंन गरेको आरोप लगाएको छ । उता, नेपाली कांग्रेस रसुवाका सुनिल पौडेलले वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनको झन्डा तथा ब्यानर च्यातेर जलाएको आरोप लगाए।
सर्वदलीय बैठकमा जिल्लाका राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।