काठमाडौं– काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले सोमबारदेखि राष्ट्रिय एकल बालनाटक महोत्सवको आयोजना गर्दैछ । शिल्पी थिएटर बत्तीसपुतलीमा सुरु भएको महोत्सव बुधबारसम्म चल्नेछ।
महोत्सवमा देशका विभिन्न विद्यालयका ३२ वटा नाटक मञ्चन हुने महोत्सव निर्देशक टंक चौलागाईंले जानकारी दिए । नाटकहरु ६ मिनेटदेखि १० मिनेट अवधिका छन्।
वरिष्ठ रंगकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यमा हुने महोत्सवमा मञ्चन गरिने नाटकहरुको मूल्यांकन शर्माले गर्नेछन् । नाटकका कलाकारलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वनाका आधारमा नगदबाट पुरस्कृत गरिनेछ।
महोत्सवमा अक्षरा स्कुल काठमाडौं, पाठशाला नेपाल फाउन्डेसन काठमाडौं, एम्बिसन एकेडेमी वानेश्वर, ग्रिन फिल्ड उच्च मावि काठमाडौं, हिलारी स्कुल गौरीघाट, ग्लोबल पब्लिक स्कुल पेप्सीकोला, ब्राइट फ्युचर उच्च मावि सातदोबाटो, कान्जीरोवा नेसनल स्कुल बालकुमारी, रोजबड स्कुल बुद्धनगर, काठमाडौं युनिभर्सिटी हाइस्कुल काभ्रे, प्रगति स्कुल, पोखरा, वीरेन्द्र मावि इलाम, क्यानभास एकेडेमी उदयपुर लगायतको सहभागिता छ।
अभिनय कलामा रुचि भएका बालबालिकालाई सम्मान एवं अवसर प्रदान गर्न महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक चौलागाईंले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।