जनकपुर- माध्यामिक शिक्षा परीक्षा (एसइई)काे प्रश्नपत्र बाहिरिनुको प्रमुख कारण मोबाइल फोन रहेको खुलेपछि प्रदेश २ मा बाँकि विषयकाे परीक्षा अवधिभर मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
प्रदेश माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले २२ गते देखि हुने बाँकी परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षाकर्मी, केन्द्राध्यक्ष, निरीक्षकसहित परीक्षा केन्द्रभित्र रहने सबैलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
बैठकले सबैको मोबाइल अफ गरी केन्द्राध्यक्षले आफ्नो नियन्त्रणमा राख्ने निर्णय गरेको समितिका संयोजक दीपक सुवेदीले जानकारी दिए।
सबै केन्द्रमा सुरक्षाकर्मीको उपस्थितिमा परीक्षार्थीको शरीरको खानतलासी गर्ने र विद्यार्थीले समेत परीक्षा केन्द्रमा मोबाइल लगेको भेटेमा तत्काल जफत गरी सुरक्षाकर्मीमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउने निर्णय भएको संयोजक सुवेदीले जानकारी दिए।
केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रूपमा नियुक्त गरेका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगाना समेतको विवरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।