बाबियाचौर, म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाका बासिन्दाबीचको जारी वनको सीमा विवाद टुंगिएको छ।
अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा र वडा नं २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद रहँदै आएको थियो।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाको सहजीकरणमा दुई वटै वडाका जनप्रतिनिधि तथा बासिन्दाको भेलाले विवादलाई सहमतिमा टुङ्ग्याएको हो।
२०४६/४७ सालमा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रुटिका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका बासिन्दाबीच तीव्र विवाद रहेको थियो।
नक्सामा जे भए पनि भोगचलन गर्दै आएको सिमानाअनुसार नयाँ नक्सा तयार पार्न प्रक्रिया अघि बढाउने र सीमा क्षेत्रको जंगल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने सहमति भएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए।
भेलामा दोवा र भुरुङ तातोपानीका वडाध्यक्ष दिलीप गर्बुजा, ओमप्रकाश फगामी, गाउँपालिकाका कार्यकारी अधिकृत अच्युत दाहाल, वडा सदस्य, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र स्थानीयवासीबीच सीमा विवाद समाधानको उपायका विषयमा छलफल भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।