काठमाडाैं- सरकारले हुरीपीडितलाई प्रारम्भिक राहत वितरण कार्य सम्पन्न भइसकेको जनाएको छ।
गत चैत्र १४ गते बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उद्धार र उपचारपछि अस्थायी बसोबासका लागि आवास बनाउने कार्य भइरहेको जानकारी दिए। उनले भने, 'पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको खाने, बस्ने, औषधाेपचार गर्नेलगायत व्यवस्था गरिएको छ।'
मन्त्री बाँस्कोटाले क्षतिको यथार्थ विवरण गृह मन्त्रालयको समन्वयमा संकलन भइरहेको पनि अवगत गराए। उनले भने, ‘पुनर्स्थापना र पुनर्निर्माणलाई केही समय लाग्छ। यसपटक सरकारले समयमै उद्धार गरेन भनी पीडितबाट गुनासाे सुन्नुपरेन।’
उनले हुरीपीडितको उद्धार तथा राहतमा कमी हुन नदिन संघीय सरकारले प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सामाजिक संघसंस्थाहरुलाई परिचालन गरिरहेको पनि बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले स्थलगत अवलोकन गरी पीडितको पुनर्वासको व्यवस्था गराउने प्रतिबद्धता जनाएका र त्यसका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि मन्त्री बाँस्कोटाको भनाइ छ।
गत चैत्र १७ गते आइतबार साँझ आएको हावाहुरीमा परी बारा र पर्सामा गरी २८ जनाको मृत्यु भएकाे छ भने ३ सयभन्दा बढी घाइतेकाे उपचार भइरहेकाे छ। घाइतेहरुको सरकारले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था पनि गरेको छ।
फरक प्रसंगमा उनले मन्त्रिपरिषद्ले अत्यावश्यक सेवामा हडताल गर्न नपाइने निर्णय गरेको जानकारी गराए। सामूहिक सौदावाजीका लागि निजी क्षेत्रमा उत्पन्न समस्याको लागि सरकारले सहजीकरण गर्ने उनले वचन दिए।
सरकारले विभिन्न सडकखण्डमा सवारी साधनका लागि सडक उपभोग दस्तुर वृद्धि गरेको छ। बस, ट्रक र साना सवारी साधनलाई ३ तहमा राखी दस्तुर कायम गरिएको छ।
'युनाइटेड सिमेन्ट'लाई धार्दिङमा आवश्यक जंगल क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए। साे उद्याेगका लागि शून्य दशमलब १७ हेक्टर बन क्षेत्र उपभाेग गर्न स्वीकर्ति दिइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।