जुम्ला- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ६ नम्बर प्रदेशमा सबैभन्दा बढी शिक्षा क्षेत्रको परेको कार्यपत्र सार्वजनिक गरेको छ।
मन्त्रालयगत रुपमा शिक्षामा बढी उजुरी परेको आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए। उनका अनुसार उजुरी संख्या ४०१ छ, जसमा ४९ फर्छ्यौट भएको र ३५२ उजुरी बाँकी छन्। शिक्षामा मात्रै १२४ उजुरी परेकामा १४ फर्छ्यौट भएका छन्।
त्यस्तै, संघीय मामिलामा १००, वन तथा भू–संरक्षणमा ४१, ऊर्जामा १९, स्वास्थ्यमा १८, खानेपानी तथा सरसफाइमा १५, सहरी विकासमा ११ उजुरी परेको प्रमुख पन्थले बताए।
'आयोगमा परेका सबै उजुरीमाथि प्रारम्भिक र विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ। दण्डात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक तीनखम्बे रणनीतिका साथ आयोगले आफ्नो काम गर्दै आएको छ,' उनले भने, 'वार्षिक कार्यतालिका अनुसार १३ वटा प्रवर्द्धनात्मक कार्यक्रम विद्यालयमा र ९ जिल्लामा गर्दै आएका छौं।'
आयोग सुर्खेतमा परेका उजुरीको प्रकृतिमा गुणस्तर विद्यालय भवन, छात्रवृत्तिको रकम दुरुपयोग, पाठ्यपुस्तक वितरणमा अनियमितता, विद्यालय कोषको रकम हिनामिना, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएको उल्लेख छ।
उपभोक्ता समितिको गठन प्रक्रिया, स्थानीय निकायको आन्तरिक आयको विनियोजन खर्च करार कर्मचारी नियुक्तिमा अपारदर्शिता, औषधि वितरण र खरिदमा अनियमितता, भवन सडक र पुल मापदण्ड र स्टिमेटअनुसार नबनेको, गुणस्तरहिन संरचना र नक्कली बिल भर्पाई बनाई सरकारी रकम हिनामिना गरेको विवरण समेटिएका उजुरी परेको आयोगले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।