काठमाडौं– एसइईको प्रश्नपत्र 'लिक' गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। चैत १४ गते हुने विज्ञान विषयको प्रश्नपत्र दुई दिनअघि नै प्रदेश २ मा आउट भएको थियो। त्यस्तै चैत १५ गते हुने सामाजिक विषयको प्रश्नपत्र पनि एक दिनअघि नै बाहिरिएको थियो।
प्रश्नपत्र आउट भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र स्थानीय प्रहरीको टोलीले उक्त घटनाबारे अनुसन्धान गरेको थियो। प्रश्नपत्र आउट गर्नेमा संलग्नलाई अनुसन्धान टोलीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का २८ वर्षीय विष्णुदेव यादव, सोही ठाउँका २२ वर्षीय ब्रह्मदेव सुनरैत, सोही नगरपालिका–१६ का २८ वर्षीय मनोज यादव, सप्तरी कञ्चनपुर नगरपालिका–६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डल, सप्तरीकै हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव र सोही ठाउँका १७ वर्षीय उमेश यादव छन्।
ब्रह्मदेव र दीपेन्द्रकुमार प्रहरी हुन् भने मनोज शिक्षक हुन्।
उक्त प्रश्नपत्रहरु सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो। उक्त प्रश्नपत्र विष्णुदेव यादवले मनोज यादवलाई दिएका थिए। मनोज यादवले राजेशलाई दिएको र त्यसपछि बाहिरिएको थियो।
विष्णुदेवले आफ्ना भाइ ब्रह्मदेवमार्फत उक्त प्रश्नपत्र आउट गरेको अनुस्न्धानबाट खुलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।