काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका युवा नेता योगेश भट्टराई चुनाव जितेदेखि नै सम्भावित मन्त्रीको सूचीमा थिए। ओलीले चुनावअघि ताप्लेजुङ पुगेर ‘जिताउने जिम्मा ताप्लेजुङबासीको, मन्त्री बनाउने जिम्मा मेरो’ आशयको अभिव्यक्ति दिएपछि त झन् धेरैले उनको सम्भावना रहेको बुझेका थिए।
तर, मन्त्रिपरिषद् गठन गर्दा भने उनी परेननन्। नेता भट्टराईप्रति अपेक्षा भएकाहरू निराश भए। उपयुक्त व्यक्ति मन्त्रिमण्डलको सूचीमा पर्न छुटेको भनेर चर्चा भयो।
पार्टीभित्र बाहिर नै बागी व्यक्तित्व बनाएका उनलाई मन्त्री नबनाएको विषयमा नेपाल कम्युनिस्ट पार्टी र प्रधानमन्त्री केपी ओलीको समेत आलोचना भयो।
यतिबेला फेरि मन्त्रीमण्डल विस्तार गर्नुपर्ने अवस्था आएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालयको जिम्मेवारी कसैलाई दिइएको छैन।
उक्त जिम्मेवारी दिँदा अन्य मन्त्रालय पनि हेरफेर गर्ने तयारी भइरहेको चर्चा चल्दा नेता भट्टराईलाई सम्भावितको रुपमा हेरिएको छ।
उनी जहाँ पुग्छन्, त्यहाँ कुनै न कुनै कोणबाट भावी मन्त्रीका रुपमा चर्चा भइहाल्छ। बिहीबार संसदीय सुनुवाइ समितिको बैठक सकिएपछि नेताहरुबीच अनौपचारिक रुपमा चर्चा भयो। समितिका सभापति लक्ष्मणलाल कर्णले नेकपाका अन्य सांसदतिर हेरेर ठट्यौली तरिकाले भने, ‘योगेशजीलाई मन्त्री बनाउँ।’
उपस्थितमध्ये एक नेताले आफू दुईपल्ट प्रत्यक्ष निर्वाचनमा जितेर पनि मन्त्री हुन नपाएको गुनासो ठट्टामै गरे। पाँच मिनेटमै समितिको बैठक सकिएपछि चिया कुर्दै गर्दा यस्ता हँसीमजाक भएको थियो। सांसद भट्टराई सम्भावित मन्त्रीका रुपमा चर्चा चलेको थियो।
केही समयअघि प्रधानमन्त्री ओलीले विराटनगरमा भट्टराईलाई भेट्दा पनि सम्भावित मन्त्रीका रूपमा ठट्टा गरेका थिए। भनेका थिए, ‘तपाईंलाई मन्त्री बनाउँला भनेको बन्दिनँ भन्दै हिँडिरहनुभएको छ रे!’ प्रधानमन्त्री ओलीलाई योगेशले त्यो बेला आफू विराटनगरमै सपथ खान तयार रहेको बताएका थिए।
यसरी निरन्तर मन्त्रीको चर्चामा रहेका भट्टराईको तयारी चाहिँ कस्तो छ? हामीले बिहिबार संसद् सचिवालयमा भएको जम्काभेटमा सोध्यौं। उनले मन्त्री बन्ने उत्कट चाहना बाकेर नहिँडेको संकेत गर्दै भने, ‘अब त्यतातिर लागिएन।’
तर योगेशलाई मन्त्री बनाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सकारात्मक देखिएको चर्चा चलिरहेको छ। यस्तो अवस्थामा उनको ‘अरुची’ अर्थपूर्ण भने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।