कञ्चनपुर- जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१२ निवासी वृषबहादुर विकको उपचारका क्रममा मृत्यु भएको छ।
गत असोज ११ गते साँझ खेतमा लगाइएको धानबाली हेर्न गएको बेला हात्तीले आक्रमण गरी गम्भीर घाइते भएका ६० वर्षीय विकको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हात्तीले आक्रमण गरी टाउको र छाती कुल्चेर गम्भीर घाइते बनाएकाले नौ दिनदेखि उनलाई आइसियुमा राखिए पनि बचाउन नसकिएको चिकित्सकलाई उद्धृत गर्दै मृतक विकका छोरा रेशबहादुर विकले बताए। हात्तीको आक्रमणबाट घाइते भएका अन्य दुईजना भने उपचारपछि घर फर्किसकेका छन्।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएका हात्ती एक महिनादेखि स्थानीय जंगलमा बस्ने, बेलाबेलामा आक्रमण गर्ने र अन्नबालीमा क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित बनेका छन्। हात्तीको डरले रातभर आगो बालेर पालैपालो जाग्राम बस्न थालेको अरुण यादवले बताए।
स्थानीयवासीले जंगली हात्तीको नियन्त्रण र आक्रमणबाट भएको जनधनको क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउनसमेत सरकारसँग माग गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।