सुनसरी– आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुनसरीका विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गरेकामध्ये ८ जनाले उम्मेदारी फिर्ता गरेका छन्।
स्वतन्त्र उम्मेदवार ४ जना, जनता दलका ३ र संघीय समाजवादीका एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार मदन ढकाल र वरुण राईले मनोनयन फिर्ता लिएका छन् भने क्षेत्र नम्बर २ मा नेपाली जनता दलका विनोद शाहले नाम फिर्ता लिए । क्षेत्र नम्बर २ मै जनता दलका प्रदेशतर्फका उम्मेदवार देवनारायण सुतिहारले पनि पछि हटेका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका सञ्चन ऋषिदेव र ३ कै ‘क’ अन्तर्गत प्रदेशसभाको उम्मेदवार बनेका महेशप्रसाद बाँस्तोलाले पनि नाम फिर्ता लिएका छन्।
क्षेत्र नम्बर ४ को ‘ख’ मा उम्मेदवारी दिएकी नेपाली जनता दलकी ममताकुमारी मेहेताले पनि नाम फिर्ता लिएकी छिन् । प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका संघीय समाजवादी पार्टीका मनोज यादवले पनि नाम फिर्ता लिए । नाम फिर्ता लिएपछि अब सुनसरीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि १ सय ४७ जना उम्मेदवार चुनावी मैदानमा छन्।
यस्तै, झापाबाट उम्मेदवारी मनोनयन गराएकामध्ये ५ जनाले नाम फिर्ता लिएका छन्।
प्रतिनिधिसभाका २ र प्रदेशसभाका ३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
क्षेत्र नम्बर २ बाट नेकपा मालेका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका खगेन्द्र प्रसाईले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै, क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रमेश श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । खड्काका अनुसार, सोही क्षेत्रबाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका विवेकशील साझा पार्टीका घनेन्द्रराज खनालले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका रोशन अग्रवाल र ‘ख’ बाट स्वतन्त्ररुपमा उम्मेद्वारी दर्ता गराएका नरेन्द्र मेचेले पनि उम्मेद्वारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत चित्रखर अधिकारीले बताए।
अब झापामा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ गरी कुल १ सय ४१ जनाले चुनावमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।