काठमाडौँ- ‘डान्स अफ डेमोक्रेसी’ समेत भनेर उत्सवका रुपमा मनाइने भारतीय लोकसभा चुनाव सुरु हुन एक साता मात्रै बाँकी छ। ७ चरणमा हुने चुनाव १७औं लोकसभाको चुनाव अप्रिल ११ बाट सुरु हुने छ र मे १९ मा सकिने छ।
मतगणना भने मे २३ मा सुरु हुनेछ र त्यही दिन चुनावी परिणाम समेत सार्वजनिक भई नयाँ भारतीय प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ।
को बन्ला नयाँ भारतीय प्रधानमन्त्री? सन् २०१४ मा प्रचण्ड बहुतम ल्याएका नरेन्द्र मोदी फेरी दोहोरीएलान्? या विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी त्यो ठाउँमा आउलान्?
यी सवालको जवाफ अहिले नै पूर्वानुमान गर्न गाह्रो छ, किनकि भारतीय चुनावी राजनीतिको ‘प्लटिङ’ अहिले नै स्पष्ट भइसकेको छैन। तर, अहिले नै प्रष्ट भएको कुरा चाँहि मोदीलाई पहिलेजस्तो सहज छैन अहिलेको चुनाव जित्न। र, मोदीका कटु आलोचक पनि थपिएका छन् यसपालाको चुनावमा।
आलोचक त उनका कयौं छन् तर हामीले यो फिचरमा त्यस्ता केही युवा आलोचक समेटेका छौं जसले चुनावी परिणामलाई ‘उलटपुलट’ पार्ने सामर्थ्य राख्छन्।
मोदीको दक्षिणपन्थी हिन्दू राष्ट्रवाद र विकास नीतिको उनीहरु खरो आलोचना गर्छन्। तीमध्ये केही आफैं लोकसभा चुनाव लड्दै छन् भने केही चाहिँ सार्वजनिक विमर्श मार्फत् ५ वर्षे मोदी कार्यकालका असफलता उजागर गरिरहेका छन्। यसको प्रत्यक्ष प्रभाव चुनावमा पर्ने कथन भारतीय विश्लेषकहरुको छ।
कन्हैया कुमार
कन्हैया कुमार मोदीका कटु आलोचक मध्येका एक भारतीय युवा राजनीतिकर्मी हुन्। जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियका पूर्व अध्यक्ष रहेका उनी विहार राज्यको बेगुसराईबाट लोकसभा निर्वाचन लड्दै छन्। भारतीय कम्युनिष्ट पार्टी (सिआई)बाट चुनाव लड्न लागेका उनका प्रतिष्पर्धी भारतीय जनता पार्टीका गिरिराज सिंह प्रतिस्पर्धी बन्न लागेका हुन्।

दक्षिणपन्थी हिन्दू राष्ट्रवादका नाममा ध्रुवीकृत राजनीति गरेको भन्दै कुमारले प्रधानमन्त्री मोदीको कडा आलोचना गर्ने गरेका छन्। आफ्ना तार्तिक भाषणमार्फत् कैंयौलाई प्रभावित पार्न सक्ने कन्हैयालाई उदाउदो भारतीय युवा नेताका रुपमा हेरिन्छ।
३२ वर्षका कनैया बिहारको बेगुसराइमा जन्मेका हुन्। भारतीय संसद्मा आक्रमण गर्ने अजफल गुरुलाई फासी दिने अदालती निर्णय विरुद्ध जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको कार्यक्रममा भारत विरोधी नारा लगाएको भन्दै उनीसहितका केही विद्यार्थी नेतालाई सन् २०१६ मा दिल्ली प्रहरीले पक्राउ गरेको थियो।
राज्यद्रोहको आरोपमा जेलमा हालेपछि उनी एकाएक चर्चामा आए।
दिल्लीको तिहार जेलमा रहेका उनीविरुद्ध लगाएको आरोप अदालतबाट पुष्टि हुन नसकेपछि छुटे। त्यस यता उनी मोदी सरकारको कडा आलोचना गर्दै आएका छन्।
खासगरी उनले मोदीले साम्प्रदायिक राष्ट्रवाद चर्काएको र उनले लिएको आर्थिक नीतिले गरिब र धनिबीचको खाडल बढाएको भन्दै त्यसको आलोचना गर्ने गरेका छन्।
उनले गत फेब्रुअरीमा ‘अफ्रिकी अध्ययन’ विषयमा जवारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
सहेला रसिद
मोदीको चर्को आलोचना गर्ने युवामा गनिन्छिन् सहेला रसिद। ३१ वर्षीया सहेला सन् २०१५ मा जवाहरला नेहरु विश्वविद्यालय विद्यार्थी युनियनकी उपाध्यक्ष भएकी थिइन्। राज्यद्रोहको आरोपमा पक्राउ परेका कन्हैया कुमार, उमार खालिदलगायतका विद्यार्थी नेताको रिहाइको माग गर्दै भएको विद्यार्थी आन्दोलनको नेतृत्व गरेपछि उनी चर्चामा आएकी थिइन्।

मोदीकी कटु आलोचक उनी गत १७ मार्चमा स्थापना गरिएको ‘जम्मु एन्ड कश्मिर पिपुल्स मुभमेन्ट’मा आबद्ध भएकी छन्। लोकसभा निर्वाचनमा उनी उठ्ने/नठ्ने अझै निश्चित भएको छैन तर उनले आफूले मोदीविरुद्ध चुनावी अभियान चलाउने बताएकी छिन्।
जम्मु–कश्मीरको श्रीनगरमा जन्मेकी उनले जवाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारिधि गरेकी छिन्।
कश्मीरमा भएका मानवअधिकार उल्लंघनका घटनाको उनले चर्को आलोचना गर्ने गरेकी छिन्। सन् २०१० मा कश्मिरमा युवा नेतृत्व कार्यक्रम आयोजना गर्ने मध्येकी उनी एक थिइन्।
त्यस्तै उनले स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति बढाउन माग गर्दै गरिएको प्रदर्शनको पनि नेतृत्व गरेकी थिइन्।
हार्दिक पटेल
चर्चित भारतीय युवा राजनीतिज्ञ हुन् हार्दिक पटेल। २५ वर्षीय उनी मोदीको गृहराज्य गुजरातमा जन्मेका हुन्। अन्य जातिसरह पाटीदर समुदायलाई पनि पिछडिएको जातिमा राखी आरक्षण दिन माग गर्दै भएको आन्दोलनको नेतृत्व गरेपछि उनी चर्चामा आएका हुन्।

सन् २०१५ मा सुरु भएको पाटीदर समुदायको आन्दोलन गुजरात राज्यभर फैलिएको थियो। सबैभन्दा ठूलो प्रदर्शन अहमेदावादमा भएको थियो जहाँ हजारौ पाटीदर समुदायका मानिस सहभागी भएका थिए। यसको सफल नेतृत्व गर्न उनको भुमिका रहेको बताइन्छ।
प्रदर्शनका क्रममा केही हिंसाका घटना भएपछि राज्यका सहरभर कर्फ्यु समेत लगाउनु परेको थियो। आन्दोलनपछि उनीहरुलाई १० प्रतिशत आरक्षण दिने सहमति सरकारसँग भएपनि गुजरात उच्च अदालतले उक्त सहमति खारेज गरिदिएको थियो। सहमति खारेज भएसँगै पाटीदर समुदायको आन्दोलन थप दुई वर्षसम्म लम्बिएको थियो।
सन् २०१९ मा भारतीय संसद्ले उक्त सहमतिमा भएको व्यवस्था बमोजिम १० प्रतिशत आरक्षणको व्यवस्था संविधानमै गर्न संविधान संसोधन गरिएको थियो। तर, संसोधन विरुद्ध भारतीय सर्वोच्च अदालतमा मुद्दा परेको थियो।
उक्त आन्दोलनले अपेक्षित सफलता पाउन नसकेपनि पट्टेल भने युवा नेताका रुपमा स्थापित भएका थिए। उनी केही समयअघि भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गरेका हुन्।
पाटीदर समुदायमा राम्रो पकड भएका उनी अदालती मुद्धाका कारण लोकसभा चुनावमा उठ्न भने पाउने छैनन्। मोदीका कडा आलोचक उनी आफ्नो समुदायको मतलाई प्रभावित पार्छन्। उनको यो पकडले मोदीलाई आफ्नै गृह राज्यको चुनावमा अप्ठ्यारोमा पार्न सक्छ।
जिग्नेश मेवाणी
मोदीको गृह राज्य गुजरातबाटै उदाएका युवा नेता हुन् जिग्नेश मेवाणी। उनी पनि मोदीका कटु आलोचक मानिन्छन्। समाजिक अभियान्ताका रुपमा काम गरेका ३८ वर्षीय उनले सन् २०१६ मा गुजरातमा दलित समुदायले गरेको आन्दोलनको नेतृत्व गरेका थिए।

गाई रक्षाका नाममा गुजरातमा दलित समुदायमाथि आक्रमण भएपछि अहमेदावाददेखि उनासम्म ‘दलित अस्मिता यात्रा’ नाममा मार्चपास भएको थियो। जसमा २०औं हजार दलित समुदाय सहभागी भएका थिए।
दलित आन्दोलनलाई नेतृत्व गरेर चर्चामा आएका मेवाणीले सन् २०१७ मा गुजरात राज्यसभा निर्वाचनमा स्वतन्त्र रुपमा उठेका थिए। भारतीय राष्ट्रिय कांग्रेस र आम आदमी पार्टीको साथ पाएका उनले त्यहाँको भादगाउ निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए।
तेजस्वी प्रसाद यादव
विहारका पूर्व मुख्यमन्त्री लालु यादवका जेठा छोरा यादव २६ वर्षकै उमेरमा बिहार राज्यको उपमुख्यमन्त्रीमा नियुक्त भएका थिए। हाल उनी २९ वर्षका छन्। नितिश कुमार सरकारमा उनी करिब दुई महिना उपमुख्यमन्त्री बनेका थिए। पूर्व क्रिकेटर समेत रहेका उनी मोदीका कटु आलोचक मानिन्छन्।

उनी अहिले बिहार राज्यसभामा विपक्षी दलका नेता समेत छन्। त्यस्तै उनी भारतमै कम उमेरका विपक्षी दलको नेता मानिन्छन्। पटनामा ९ कक्षासम्म पढेका उनले स्कुले शिक्षा भने पूरा गरेनन्।
स्कुले शिक्षा समेत पूरा नगरेका व्यक्तिलाई उपमुख्यमन्त्री बनाएको भन्दै उनको उनको आलोचना समेत भएको थियो।
भारतको केन्द्रीय अनुसन्धान ब्युरोले उनका बुवा लालुसहित उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्धा दायर गरेको छ। त्यसको उनले प्रतिवाद गर्ने गरेका छन्।
गुरमेहर कौर
भारतीय विद्यार्थी अभियान्ता तथा लेखक समेत रहेकी गुरमेहर कौर अहिले दिल्ली विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गरिरहेकी छिन्।
रामजास कलेजमा विद्यार्थी नेताहरु उमार खालिद र सहेला रसिदलगायतलाई निमन्त्रणा दिएर आयोजना गरिएको समेनिारमा दुई विद्यार्थी संगठनबीच झडप भएको थियो।

उक्त झडपपछि चलाइएको ‘दिल्ली विश्वविद्यालय बचाऊ’ अभियानमा सहभागी भएपछि उनी चर्चामा आएकी थिइन्। त्यसअघि उनले जारी गरेको एउटा भिडियो सन्देशबाट उनको चर्चा भएको थियो। उक्त भिडियो सन्देशमा भारत–पाकिस्तानबीच शान्तिको कामना गरिएको थियो।
२२ वर्षीया कौर मोदी र उनले व्याख्या गर्ने राष्ट्रवादको कडा आलोचक हुन्। चर्चित टाइम म्यागेजिनले सन् २०१७ मा उनलाई ‘स्वतन्त्र अभिव्यक्तिकी योद्धा’को उपमा दिँदै अर्को ‘अर्को पुस्ताका दश नेता’को सूचीमा समावेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।