कैलाली– मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा कैलालीबाट एक सय २० जनाले प्रतिष्पर्धा गर्ने भएका छन्।
मनोनयनका क्रममा १ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएकोमा आइतबार प्रतिनिधिसभातर्फ १० र प्रदेशसभाबाट सात जनाले १७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभाका लागि पाँच सिट र प्रदेशसभामा १० सिट रहेको कैलालीमा प्रतिनिधिसभामा ४२ र प्रदेशमा ७८ जनाले प्रतिष्पर्धा गर्ने भएका हुन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभामा कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा चुनाव लड्दै छिन् । सो क्षेत्रमा राणासँग नेकपा एमालेका नारदमुनि राना प्रतिष्पर्धामा छन्।
यसैबीच, प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राप्रपा राष्ट्रवादीले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी फिर्ता लिँदै कांग्रेसलाई सघाउने निर्णय गरेको छ।
राप्रपा र कांग्रेसबीच राष्ट्रवादी–प्रजातान्त्रिक गठबन्धन गर्ने सहमति भएपछि निर्वाचन क्षेत्र नम्बर ५ को ‘ख’ मा राप्रपाबाट उम्मेदवारी दिएका दीपक मल्लले उम्मेदवारी फिर्ता लिएका छन्।
उनले आइतबार पत्रकार सम्मेलन गर्दै सो क्षेत्रमा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तलाई समर्थन गर्ने जनाएका छन्।
डडेल्धुराबाट ५ र डोटीमा ३ जनाको उम्मेदवारी फिर्ता
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेशसभाका ५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपाका २, नयाँ शक्तिका २ र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।
राप्रपाबाट क्षेत्र नम्बर १ का उम्मेदबार हरिसिंह साउद र क्षेत्र नम्बर २ का उम्मेदवार कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका छन् भने नयाँ शक्तिका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार विष्णु ठकुराठी, २ नम्बर क्षेत्रका उम्मेदबार लक्ष्मीकान्त पनेरु र स्वतन्त्र उम्मेदबारी दिएका नरबहादुर पालले उम्मेदवारी फिर्ता लिएका डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद रिजालले जानकारी दिए।
डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र वाम गठबन्धनका खगराज भट्टबीच प्रतिस्पर्धा हुनेछ । डडेल्धुरामा प्रतिनिधिसभामा तीन र प्रदेश सभामा ११ जना प्रतिष्पर्धामा छन्।
यस्तै, डोटीमा तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार, नयाँ शक्तिका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार चन्द्रदेव ओझा, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट कैलाशसिं साउद र संघीय समाजवादीका तर्फबाट २ नम्बर क्षेत्रका उम्मेदवार मानबहादुर थापाले उम्मेदवारी फिर्ता लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।