ब्युनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनामा २३ वर्षीय एक युवकले ९१ वर्षीय महिलासँग विवाह गरेका थिए । दुवै केही समय सँगै बसेका थिए । तर, अहिले उनीहरुको विवाहको विषयमा लिएर कानुनी प्रश्न उठ्न थालेको छ।
माउरिसियो ओसोला नाम गरेका युवकले २०१५ मा योलान्दा टोरेस नाम गरेकी वृद्धासँग विवाह गरेका थिए । तर, विवाहको केही सातामै योलान्दाको निधन भएको थियो । ब्राजिलको रियो दि जेनेरियोमा हनिमुन मनाउने क्रममा योलान्दाको निधन भएको बताइएको छ।
माउरिसियोले श्रीमतीको निधनपछि पेन्सनका लागि आवेदन दिएका थिए । अहिले यो मुद्दा अदालतसम्म पुगेको छ । सरकारी कर्मचारीले माउरिसियोले आफ्नो फाइदाका लागि वृद्धासँग विवाह गरेको दाबी गरेका छन्।
सरकारी कर्मचारीले विवाहको विषयमा उनीहरुको छिमेकीसँग सोधपुछ गरेका थिए । त्यस क्रममा छिमेकीहरुले आफूहरुलाई त्यसबारे जानकारी नभएको बताएपछि कर्मचारीहरु विवाह भएको मान्न तयार छैनन्।
श्रीमतीको पेन्सन आफ्नो नाममा नआउने देखेपछि माउरिसियो यो मुद्दालाई उच्च न्यायालयमा दर्ता गराउने पक्षमा छन्।
माउरिसियो भन्छन्, ‘मैले मनदेखि नै योलान्दालाई प्रेम गरेको थिएँ । उनको निधनबाट म स्तब्ध छु र उनको सम्झना सधैं रहनेछ । मैले पेन्सनका लागि आवेदन दर्ता गराउँदा सबै कानुनी कागजपत्र पेश गरेको थिएँ।’
माउरिसियो कानुनका विद्यार्थी हुन् । अध्ययनको क्रममै उनले योलान्दासँग विवाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।