काठमाडौं– पछिल्लो समय फिल्ममा निकै व्यस्त दयाहाङ राईलाई अभिनेताका रुपमा रंगमञ्चमा झुल्किन मुश्किल परिरहेको छ । यसै क्रममा उनी नाटक निर्देशनबाट रंगमञ्चसँग जोडिएका छन्।
मण्डला थिएटर अनामनगरले मंगलबारदेखि उनीद्वारा निर्देशित नाटक ‘झ्यालिन्चा’ मञ्चन गर्दैछ । कुमार नगरकोटीले लेखेको कथामा आधारित नाटक निर्देशनमा दयाहाङलाई सोमनाथ खनाल, उमेश तामाङ र विकाश जोशीले सघाएका छन्।
नाटकमा विजय बराल र रञ्जना ओलीले अभिनय गरेका छन् । कथावाचन शैलीमा मञ्चन गरिने नाटकको समयवधि ५० मिनेट रहेको छ । दयाहाङले किराँत संस्कारको मुन्धुमी कथावाचन शैलीलाई नाटकमा प्रयोग गरेका छन्।
अनुपम शर्माको लाइभ संगीत रहने नाटकमा किरण चाम्लिङले गीत संयोजन गरेका छन् । नाटकको मञ्च निर्माण, प्रकाश व्यवस्थापन लगायतका प्राविधिक पक्ष रोहित पौडेल र अनुप न्यौपानेले हेरेका छन्।
सबैका प्रिय लेखक हासबिरा उपन्यासको ‘झ्यालिञ्चा’ को सेरोफेरोमा आयोजित साक्षात्कार कार्यक्रमबाट नाटक सुरु हुन्छ । हासबिराले जनयुद्धको सेटिङमा लेखेको भने पनि उपन्यासकी चरित्रलाई उनी राम्ररी चिन्दैनन्।
आफ्नो बगैंचामा आएको प्याजी झ्यालिन्चाबाट मोहित भएर त्यसैको स्वैरकल्पनामा डुब्दै हासबिराले उपन्यासको खाका तयार पारेका छन् । उपन्यास लेख्ने क्रममा चरित्रको छायाले पछ्याउन थालेको उनलाई भान हुन्छ । उनी त्यसै मख्ख पर्छन्, अलिअलि समस्यामा पनि पर्छन् । उनले उपन्यास लेखिसक्दै गर्दा उनकै बगैंचाको घरपालुवा छेपारोले प्याजी झ्यालिन्चालाई निलिदिन्छ । हासबिरालाई हाइसन्चो हुन्छ । झ्यालिञ्चाको वास्तविक कथा बल्ल शुरु हुन्छ।
सुदूर गाउँकी एक युवतीको आत्मा झ्यालिञ्चा बनेर उडिरहेको हुन्छ । जनयुद्धकालमा बिद्रोहीहरुलाई खाना खुवाएवापत सरकारी सुरक्षाफौजले उनको अपहरण गरेको हुन्छ । बलात्कारपश्चात जंगलको ऐसेंलु झाडीमा उनको जिउँदो शरीर गाडिएको हुन्छ तर बेपत्ताको राष्ट्रिय सूचिमा उनको नाम हुँदैन।
उनकी आमाको विश्वास हुन्छ, झ्यालिञ्चा बनी उडेर गएकी उनकी छोरी एकदिन घर फर्किन्छे । यही कथासारलाई नाटकमा उनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।