काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हावाहुरी पीडितलाई राहतको समस्या नभएको बताएका छन्।
'सहयोगी हातहरु पुगेका छन्। राहतको समस्या छैन। राहत धेरै पुगेको छ। वितरणमा केही समस्या छ। खानमा पनि अप्ठ्यारो छैन। बस्नको लागि केही अप्ठ्यारो छ', काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बताए।
उनले सबै ठाउँमा राहत पुगोस् भनेर पहल गरिरहेको बताए।
हावाहुरीलाई डरलाग्दो भन्दै उनले नेपालकै इतिहासमा यस्तो नदेखिएको बताए। नजिकै नजिकैका संरचनामा पनि कुनैमा क्षति पुगेको र कतै केही पनि नभएको उनले बताए।
'यो प्राकृतिक कहरलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको छ', उनले भने, 'मृतकको परिवारलाई ३ लाख राहत घोषणा गरेको छ।'
प्रदेश सरकार पीडितको पुनर्वासको व्यवस्था गर्न गम्भीर भएको बताए।
'मृतकको ज्यानलाई फर्काउन सक्दैनौं। तर, उहाँहरुको घर परिवारको पीडालाई कम गर्न लागिपरेका छौं। त्यसमा हामी गम्भीरतापूर्वक लागेका छौं', उनले भने।
उनले प्रदेश सरकारको तर्फबाट राहत कोष खोलिएको बताए। 'देश भित्र र बाहिर रहनुभएका धेरै दाजुभाइले सहयोग गरिरहनुभएको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।