विराटनगर– मंसिर २१ गते हुने प्रदेश नम्बर १ को निर्वाचनका लागि मोरङमा मनोनयन दर्ता गराएका १ सय ९२ उम्मेदवारमध्ये २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्तासँगै अब मैदानमा १ सय ६९ जना रहेका छन्।
आइतबार प्रतिनिधिसभातर्फ ६ जनाले र प्रदेशतर्फ १७ जनाले उम्मेदवारी फिर्ता लिएको क्षेत्रीय निर्वाचन कार्यालय मोरङका सूचना अधिकृत हेमन्तकुमार श्रीवास्तवले जानकारी दिए ।
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ३ बाट २ र क्षेत्र नम्बर ४ बाट २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले उम्मेदवारी दिएको मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेस (विपी) तर्फका उम्मेदवार केदारनाथ अर्यालले उम्मेदवारी फिर्ता लिएका छन्।
त्यस्तै, क्षेत्र नम्बर १ मा जनप्रजातान्त्रिकका कुलबहादुर लिम्बूले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
प्रदेशतर्फ भने १७ जनाले उम्मेदवारी फिर्ता लिए । जसमा राप्रपाका ६ जना, स्वतन्त्रबाट ५ जना, राप्रपा प्रजातान्त्रिकबाट ४ जना र जनमुक्ति पार्टीबाट १ जना छन्।
मोरङमा प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभामा १ सय ८ जनाको उम्मेदवारी परेको थियो । प्रतिनिधिसभातर्फ ६१ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलातर्फ ३ जनाको मात्र उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै, क र ख गरी कुल १२ वटा प्रदेशसभामा १ सय जना पुरुष र ८ जना महिलाले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।