काठमाडौं– नेपाली कामदारहरूलाई वर्किङ भिसामा पठाउने विश्वास दिलाएर भिजिट भिसामा युएई पठाउने कम्पास म्यानपावरकी कर्मचारी पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा भोजपुर जिल्ला हतुवागढी गाउपालिका–९ की ३४ वर्षीया विमला थापा रहेको प्रहरीले जनाएको छ।
वर्किङ भिसामा रोजगारीका लागि युएई पठाउने भनेर प्रतिव्यक्ति २ लाख ४० हजार लिई भिजिट भिसामा पठाउने गरेको खुलेपछि थापालाई प्रहरीले पक्राउ गरेको हो।
आफूहरूलाई वर्किङ भिसामा युएई पठाइदिने भनेर विमानस्थलसम्म बोलाएको र त्यहाँबाट अध्यागमनले फर्काएको भन्दै प्रहरीमा धनुषा मिथिला बिहारी नगरपालिका–२ का मोहम्मद गुलाम राइन र सबिर राइनले प्रहरीमा जाहेरी दिएका थिए।
उनीहरूसँग ४ लाख ४० हजार रकम असुल गरी विमलाले चैत ११ गते युएई पठाउन विमान स्थल बोलाएकी थिइन्। अध्यागमन विभागले आफूहरूलाई फिर्ता गरेकोले विमलाले झुक्याइ रकम लिई भिजिट भिसामा विदेश पठाउन भनी ठगी गरेको भन्दै पीडितले उजुरी दिएका थिए।
थापालाई आवश्यक कारबाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बृतले जनाएको छ।
पक्राउमा परेकी विमलाले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुनसक्ने भन्दै पीडितहरू भएमा परिसरमा उपस्थितिका लागि प्रहरीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।