काठमाडौं– सर्वोच्च र उच्च अदालतका लागि भएको २३ न्यायाधीशको सिफारिस विवादमा परेको छ। सिफारिसमा ज्वाईं, छोरीदेखि पूर्व प्रधानन्यायाधीशका भतिजासम्म अटाएपछि यसको विरोध समेत सुरु भएको छ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका दुई पूर्वअध्यक्ष हरिहर दाहाल र शम्भु थापाले न्यायाधीश सिफारिसमा गलत व्यक्ति परेको र योग्य मानिसहरु नपरेको भन्दै विरोध जनाएका हुन्।
न्यायपरिषद्ले मंगलबार सर्वोच्च र उच्च अदालतमा गरेको न्यायाधीश सिफारिसको विरोधमा उनीहरुले हिजो इजलासमा बहस बहिष्कार गरेका थिए भने आजबाट सुरु हुने न्यायाधीश सम्मेलनमा समेत सहभागी नहुने घोषणा गरेका छन्।
नेपाल लाइभसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायलयको साख नै गुम्ने र सर्वोच्चको गरिमा नै खतरामा पर्नेगरी केही नाम सिफारिस भएकोले विरोध जनाएको बताए।
अर्का पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता थापाले केही न्यायाधीश नियुक्तिमा आफूहरूको विरोध रहेको बताए।
‘सबै न्यायाधीशको नाममा मेरो विरोध छैन तर सर्वोच्च र उच्च अदालतका केही न्यायधीशको सिफारिसमा ठूलो समस्या छ’, उनले भने, ‘यसले समग्र न्यायालयलाई ध्वस्त पार्छ।’
न्यायालयको साख कायम हुनुपर्छ भनेर प्रतिकात्मक रूपमा त्यसको विरोध गर्न बुधबार दिउँसो सुरू हुने न्यायाधीश सम्मेलनमा अनुपस्थित हुने निर्णय गरेको उनले बताए।
‘अदालतमा भएको गलत न्यायाधीश सिफारिसबारे सम्मेलनमा न्यायाधीशहरूले छलफल गर्नुपर्छ, उहाँहरुलाई मेरो आग्रह छ’ थापाले भने, ‘समयमा यसलाई सच्चाउन दबाब दिनुस्।’
उनले अदालतमा भएका गलत नियुक्तिबारे नेपाल बार एसोसिएसनमा बसेर छलफल गर्न देशभरिका अधिवक्ताहरूसँग छलफल गरिरहेको पनि बताए।
मंगलबार बसेको न्यायपरिषद् बैठकले सर्वोच्चमा पाँच र उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको थियो।
यीमध्ये केही पूर्वप्रधानन्यायाधीशका आफन्त, प्रधानन्यायाधीशकै र केही राजनीतिक नेताका नातेदार पनि परेका छन्।
सर्वोच्च अदालतका लागि सिफारिस भएका मनोजकुमार शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा हुन्। आफू प्रधानन्यायाधीश हुँदै शर्माले मनोजलाई २०७१ सालमा तत्कालीन पुनरावेदनको अतिरिक्त न्यायाधीश बनाएका थिए। शर्माले नै राणालाई सर्वोच्चमा ल्याएका थिए। सोही गुन तिर्न राणाले शर्मालाई सर्वोच्च भित्राएपछि विवाद भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।