रियाद- साउदी अरेबियाका ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र पूर्वमन्त्रीसहित अन्य प्रभावशाली व्यक्तिलाई पक्राउ परेका छन्।
उनीहरुलाई किन नियन्त्रणमा लिइएको हो भन्ने कुरा अहिले नै प्रष्ट नभएको भए पनि साउदी अरेबियाको सरकारले शनिबार मात्र गठन गरेको भ्रष्टाचार हेर्ने निकायले उनीहरुलाई नियन्त्रणमा लिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसैले भ्रष्टाचारमा संलग्न भएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको अनुमान गरिएको छ।
पक्राउ पर्नेमा अर्बपति व्यापारी साउदीका युवराज मोहम्मद बिन तलाल पनि छन् । शनिबार भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय गठन भएको केही घन्टामै ती युवराज र मन्त्रीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरु सरकारी थुनामै रहेको पुष्टि सरकारी अधिकारीहरुले गरेका छन्।
साउदी अरेबियामा सुधार कार्यक्रमको घोषणा केही दिनअघि गरिएको थियो । सो कार्यक्रमको नेतृत्व गरेका युवराज मोहम्मदले नै सो पक्राउको आदेश दिएका थिए । उनले शासनमा आफ्नो शक्ति बढाउन पनि यी कदम चालेका हुनसक्ने अनुमान गरिएको छ।
साउदी अरेबियाको सरकारी टेलिभिजन अल अरेबियाले उनीहरुलाई भ्रष्टाचारजन्य कार्यको दोषीका रुपमा पक्राउ गरेको जनाएको छ।
सन् २००९ मा आएको बाढी र सन २०१२ मा साउदी अरेबियामा देखा परेको मर्स नामक भाइरसका समयमा भएका गतिविधिका कारण उनीहरुमाथि अनुसन्धान हुनुपर्ने आवाज उठेको थियो । सोही आरोपमा नै उनीरुलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि यसबारे उक्त निकायले भने केही बताएको छैन।
भ्रष्टाचारसम्बन्धी नयाँ आयोगलाई अनुसन्धानको लागि शंकास्पद व्यक्तिलाई पक्राउ गर्न, त्यस्ता व्यक्तिलाई देशबाहिर जान नपाउनेगरी यात्रा प्रतिबन्ध लगाउन सक्ने अधिकार दिइएको छ । साउदी अरेबियाको सरकारी समाचार समिति ’एसपीए’ का अनुसार अनुसन्धानको घेरामा अरु पनि उच्च ओहदाका कैयौं सरकारी अधिकारी छन् । उनीहरुलाई पनि पक्राउ आदेश आउनसक्ने सो समितिले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।