विराटनगर- एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी मोरङ जिल्लामा ६ लाख ४४ हजार ७८२ मतदाता छन्।
स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगको कार्यालयले मतदाता नामावली संकलनमा ७० हजार २८२ मतदाता थपेपछि मतदाताको सो संख्या पुगेको हो।
छ वटा संसदीय क्षेत्र भएको मोरङमा सबैभन्दा बढी क्षेत्र नं ३ मा एक लाख २७ हजार ४९५ मतदाता छन् । सोमध्ये ६० हजार ७४९ पुरुष र ६६ हजार ७४६ महिला मतदाता रहेको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ।
यस जिल्लामा सबैभन्दा कम मतदाता क्षेत्र नं ५ मा छन् । सो क्षेत्रमा ४८ हजार ८६६ पुरुष र ४० हजार ४२१ महिला गरी ८९ हजार २८७ मतदाता छन्।
क्षेत्र नं १ मा ५१ हजार ७३७ पुरुष र ५५ हजार ४९७ महिला गरी एक लाख सात हजार २३४, क्षेत्र नं २ मा ५१ हजार ५०७ पुरुष र ५३ हजार ८१३ महिला तथा एक तेस्रो लिंगी गरी एक लाख ११ हजार ३२१ मतदाता पुगेका छन्।
त्यस्तै क्षेत्र नं४ मा ५० हजार ८८७ पुरुष र ४८ हजार २३६ महिला गरी ९९ हजार १२३ मतदाता छन् भने क्षेत्र नं ६ मा ५६ हजार २५९ पुरुष र ५४ हजार ६२ महिलाका साथै एक तेस्रो लिंगी गरी एक लाख १० हजार ३२२ मतदाता रहेको छ।
यस जिल्लामा तीन सय मतदानस्थल र मतदानकेन्द्र सातसय ५८ रहेको उक्त कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।