पोखरा- कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान-२०७५ बाट अग्रज पत्रकार किशोर नेपाल सम्मानित भएका छन्।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा सूर्य-प्रेम बहुद्देश्यीय समाज सेवा ट्रष्टद्वारा स्थापित सम्मान पूर्वराष्ट्रपति रामवरण यादवले नेपाललाई प्रदान गरे। पुरस्कारको राशि एक लाख ११ हजार १११ नगद रहेको छ।
पोखरामा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रेस जगतलाई संकुचन हुन नदिन सत्ता पक्षा र प्रतिपक्षको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताए। नेपालको लोकतान्त्रिक गणतन्त्र नमुना रहेको उल्लेख गर्दै उनले भने, 'विधिअनुसार चले देशको भविष्य सुन्दर छ। यसका लागि लोकतन्त्रको संस्थागत विकासमा राजनीतिक दल, सञ्चार, नागरिक समाजको महत्वपूर्ण भूमिका हुन्छ।’
पत्रकारहरुलाई वातावरणमैत्री बन्न आग्रह गर्दै उनले गाउँगाउँमा भएको एक्स्काभेटर र डोजर आतंक रोक्न थप भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए।
सम्मानित पत्रकार नेपालले विभिन्न नाममा हुने गरेका स्वतन्त्र प्रेसविरोधी गतिविधि नरोकिएसम्म स्वच्छ पत्रकारितामा चुनौती आइराख्ने भनाइ राखे। पोखरा देशकै समृद्ध रहेको चर्चा गर्दै उनले यहाँको तालतलैया र पर्यटकीय गतिविधिबाट थप समृद्धि कमाउनुपर्नेमा जोड दिए। ‘पोखरामा सबै पक्षहरुको मिलन भएको छ। अन्यत्र यस्तो पाउनु दुर्लभ छ,' उनले भने, 'यो विलक्षण सौन्दर्यको नगरमा मलाई पुरस्कृत गर्नुभयो। पोखरेलीप्रति आभार व्यक्त गर्दछु।’
फेवाताल अतिक्रमणको चर्चा गर्दै उनले यसको संरक्षणमा तीनवटै तहका सरकारको समन्वय आवश्यक भएको धारणा राखे।
सांसद सूर्यबहादुर केसीले आफ्ना बुबा कीर्तिबहादुर केसीको स्मृतिमा उक्त वृत्ति सम्मानका लागि अक्षयकोष स्थापना गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।