काठमाडौं– न्याय परिषद्ले उच्च अदालतमा रिक्त पदका लागि १७ जनाको नाम सिफारिस गरेको छ।
आज बसेको परिषद्को बैठकले पूर्व अतिरिक्त न्यायाधीश, जिल्ला न्यायाधीश, न्याय समूह,कानुन समूह र कानुन व्यवसायीलाई समेट्दै नाम सिफारिस गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा बसेको परिषद् बैठकले न्याय सेवाका विशिष्ट श्रेणीबाट नायव महान्यायाधीवक्ता किरण पौडेललाई उच्च अदालत पाटन, सर्वाेच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई हैटौंडा र कानुन मन्त्रालयका उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरेको छ।
साविक पुनरावेदन अदालत पूर्व अतिरिक्तबाट निलम पौडेल परेका छन्। जिल्ला न्यायाधीशबाट राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेज आजात, बालमुकुन्द दवाडी र नगेन्द्र लाभ कर्ण रहेका छन्।
कानुन व्यवसायीबाट जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमला सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया सिफारिसमा परेका छन्।
बैसाखका लागि पनि सिफारिस
बैसाख ३ गतेबाट अनिवार्य अवकाश पाउँदै गरेका एक न्यायाधीशको कोटामा पनि परिषद्ले सिफारिस गरेको छ। उच्च अदालतका न्यायाधीश उमेशराज पौडेलको पदमा अधिवक्ता अञ्जु ढकाललाई सिफारिस गर्ने निर्णय परिषद्ले गरेको छ।
परिषद्ले सर्वोच्चका लागि पनि पाँच स्थायी न्यायाधीश सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।