मुम्बई (एजेन्सी)– थुप्रै राष्ट्रिय पुरस्कारबाट विभूषित बलिउड नायिका तब्बुले शनिबार ४६ वर्ष टेकेकी छिन्। उनी हालै रोहित सेट्ठीले निमार्ण गरेको ‘गोलमाल अगेन’ मार्फत लामो समयपछि फिल्ममा फर्किएकी थिइन्। यो फिल्ममा उनको अभिनयको तारिफ भएको थियो।
तब्बुको पूरा नाम तबस्सुम फातिमा हासमी हो। उनको जन्म ४ नोभेम्बर १९७१ मा आन्ध्र प्रदेशको हैदराबादमा भएको थियो। तब्बुकी बहिनी फराह नाज पनि अभिनेत्री थिइन्, जो ऋषि कपुर र गोविन्दासँग फिल्ममा देखा परेकी थिइन्।
तब्बुले ९ वर्षको उमेरमा फिल्म खेल्न सुरु गरेकी हुन्। १४ वर्षको उमेरमा उनले देवानन्दको ‘हम नौजवान’मा छोरीको भूमिका निभाएकी थिइन्।
करिअरको सुरुवातदेखि नै राम्रो प्रतिक्रिया पाएकी तब्बुलाई दर्शकहरुले ‘माचिस’ फिल्मबाट नोटिस गर्न थालेका हुन्। उनले यो फिल्मका लागि राष्ट्रिय पुरस्कार जितेकी थिइन्। उनी प्रायः भिन्न-भिन्न अभिनयका कारण चर्चामा रहिन्। मधुर भन्डारकरको फिल्म ‘चाँदनी बार’, ‘विरासत’, ‘हु तू तू’, ‘अस्तित्व’, ‘चिनी कम’, ‘हैदर’, ‘फितुर’ जस्ता फिल्ममा उनले भिन्न ‘क्यारेक्टर’ को अभिनय गरेकी थिइन्।
चाँदनी बारको चाँदनीदेखि फिल्म ‘हेराफेरी’ को अनुराधासम्म उनले बेग्लै किसिमको पात्रको भूमिका निर्वाह गरिन्। चाँदनी बारका लागि उनले दोस्रो राष्ट्रिय अवार्ड पनि जितिन्।
फिल्ममार्फत सबैको घरमा प्रवेश गर्न सफल भएपनि उनी अहिलेसम्म अविवाहित छिन्। उनले आफू अविवाहित रहनुमा अजय देवगनको हात रहेको बताएकी छिन्। उनले हालै मुम्बईबाट प्रकासित हुने पत्रिका 'मिरर'लाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘अजयलाई म २५ वर्षदेखि चिन्छु। उनी मेरो नातेदार समीर आर्यको छिमेकी र नजिकका साथी हुन्। मलाई समीर र अजयले निकै कडाइ गर्थे। मैले कुनै केटासँग कुरा गर्यो कि कुट्न गइहाल्थे। दुवैजना गुन्डा थिए। म आज एक्लो हुनुमा अजय देवगनको ठूलो हात छ।’
तब्बुले अन्तर्वार्ताका क्रममा मजाक गर्दै भनेकी छिन्, ‘म केही दिनपछि नै अजयलाई मेरो लागि केटा हेर भन्थे।’ उनले अजयसँग अझै पनि आफ्नो सम्बन्ध यथावत् रहेको बताइन्। उनी आफ्नो जीवनमा अजयको उपस्थितिले महत्व राख्ने गरेको बताउँछिन्।
‘उनी सबैतर्फ हेर्न भ्याउँछन्। उनीसँग म सुरक्षित महसुस गर्छु। हाम्रो विशेष सम्बन्ध छ’, तब्बुले भनिन्। अजय र तब्बुको जोडीलाई बलिउडमा कुनै बेला हिट मानिन्थ्यो। यो जोडीले ९० को दशक विजयपथ (१९९४), हकिकत (१९९५), तक्षक (१९९९) र २०१६मा दृश्यममा काम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।