राजविराज– सञ्चालनमा आएको ९ महिना नबित्दै राजविराज विमानस्थलको विमान सेवा पुनः अवरुद्ध भएको छ।
साताको तीन दिन सेवा दिँदै आएको श्री एयरलाइन्सले प्राविधिक कारण देखाउँदै सोमबारदेखि विमान सेवा रोकेको हो।
विमानको इन्जिन मर्मत गर्नुपर्ने भएकाले सेवा रोक्नु परेको एयरलाइन्सलाई उध्रित गर्दै राजविराज नागरिक उड्डयन कार्यालय सप्तरीका प्रमुख भिमदत्त पन्तले जानकारी दिए।
सेवा पुनः सञ्चालनमा आउने वा नआउने विषयमा यकिन जानकारी नआएको उनले बताए।
सुरुवातमा साताको ५ दिन सेवा दिँदै आएको एयरलाइन्सले प्राविधिक त्रुटि देखाउँदै २ दिन सेवा कटौती गरी ३ दिनमा सीमित गरेको थियो।
सोमबारदेखि सेवा अनिश्चित भएको पन्तको भनाइ छ। एयरलाइन्सले सोमबार पनि टिकट काटेर यात्रु लिन नआएको कार्यालयले जनाएको छ।
कच्ची धावन मार्गका कारण पटक–पटक सञ्चालन र बन्द हुँदै आएको राजविराज विमानस्थल स्तरोन्नतिपछि गत असार १० गते पुनः सञ्चालनमा आएको थियो।
ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले रवीन्द्र अधिकारीले राजविराज काठमाडौं विमान सेवाको उद्घाटन गरेका थिए।
तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको शिलन्यास गरेका थिए। कच्ची धावन मार्गकै कारण पछिल्लो पटक २०५२ बैसाखदेखि उडान रोकिएको थियो।
राजविराज नगरपालिकाबाट ४ किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा अवस्थित विमानस्थल निर्माणका लागि स्थानीय रुद्रनारायाण सिंहले ५५ विगाह जग्गा उपलब्ध गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।