नारायण अधिकारी/बारा- आइतबार राति करिब साढे ७ बजे आएको हावाहुरीका कारण बाराको फेटा गाउँपालिकाका विभिन्न स्थानमा ठूलो मानवीय र भौतिक क्षति गर्यो।
'बाहिरको बस तीन बल्ड्याङ खाएको थियो। मान्छे घाइते भए। हामीले बोकेर घरभित्र ल्याएका थियौं। एकै छिनमा मृत्यु भयो। हावाले बस, ३० वटाको हाराहारीमा ट्रक पल्टिए। बाराको चैनपुरमा एक जनाको मृत्यु भयो। त्यस ठाउँमा विद्युतका तार र पोलहरु ढलेर तहस नहस भएका थिए,' करिब २५ घर चैनपुरमा भत्किएको स्थानीयबासी निशान तुल्सिहारले नेपाल लाइभसमक्ष मलिन स्वरमा दुःख पोखे।
उनको गाडी र पेट्रोल पम्प क्षति पुगेको थियो। हामीसँग कुरा गर्ने बेला उनी पेट्रोल पम्प बनाउँदै थिए। उनले हामीलाई सुरुमै प्रश्न गरे, 'काठमाडौंदेखि आउनु भएको होला। मधेशको दुःख देख्नुभयो नि!
बाराको पर्साउनीमा पनि ठूलो क्षति पुर्यायो विनाशकारी हुरीले । पर्साउनीमा अधिकांश घर कच्ची छन। सानो बाँसाको छाप्रोमा बनाएर बसेका मुस्लीम समुदायहरुमा ठूलो क्षति पुगेको देखिन्छ। यस गाउँमा पनि एक जनाको मृत्यु भएको स्थानीयबासी मनिल ठाकुर एपिआरले बताए।
जन्ती जाँदै गर्दा बाटोबाटै फर्कन पर्यो
पर्साउनी गाउँपालिका-३ खटुवामा ननक मियाका छोरा अलि मियाको बिहेको तयारी गरिँदै थियो। मुस्लिम परम्पराअनुसार उनीहरुको जन्ती खटुवाबाट फेटा गाउँपालिका भलुवही जाने तयारीमा थियो। बिहे घरबाट बेहुलीको घर जान निस्केको जन्ती बिच बाटोबाटै फर्किनु परेको स्थानीय मनिलकुमार एपीआरले बताए।
'हामी बिहे घरबाट निस्कन मात्र के लागेका थियौं। ठूलो हावाहुरी आएपछि बीचबाटोबाटै फर्कियौं,' उनले नेपाल लाइभसँग भने। प्रहरीले ठूलो क्षति भएको छ बाहिर जान सक्ने अवस्था नभएको बताएपछि बिहे रोकियो। बडो मलिन भएका जन्ती र बेहुलीपक्ष सहित जसोतसो आज बिहे भयो।
बेलैमा उद्धार नभएको गुनासो
बेलैमा उद्दार नभएको अधिकांश पीडितको गुनासो छ। उज्यालो भएपछि भने उद्धारमा तीव्रता भएकाले स्थानीयहरुलाई केही भएपनि मल्हमपट्टी भएको बताए। साना छाप्रो घर, बिजुलीका पोल, तारहरू, रुख, गहुँमकैलगायतका बालीको कुरा गरिसाध्य छैन। कसरी खाने, कसरी बस्ने भन्ने समस्या भएको पीडितहरुको गुनासो छ।
फेटामा सबैभन्दा बढी क्षति
हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको ठाउँ फेटा गाउँपालिकामा पर्छ। फेटामा झन्डै ५० घर पूर्ण रुपमा क्षति भएका छन्।
आंशिक क्षति भने सयौं घरमा भएको छ। फेटाका विभिन्न गाउँमा भएको तहसनहसले २०७२ सालको भकम्पको झझल्को दिएको उद्दारमा खटिएका प्रहरी सहायक निरीक्षक महमद यादवले बताए। २०७२ सालमा काठमाडौं यस्तै तहसनहस भएको थियो। अहिले त्यस्तै छ यता।
उद्दारमा सुरक्षाकर्मीदेखि स्थानीयसम्म
उद्दारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, विभिन्न संघ संस्था, रेडक्रस, स्थानीय बासिन्दा खटिएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरि पालले बताए। रातभर पनि स्थानीय प्रहरी उद्धारमा खटिएका थिए। बिहानभर देखि बेलुकैसम्म तीनवटै सुरक्षा निकाय र स्थानीयबासी उद्धारमा खटिए।
मिलीजुली बस्ने हो, कोही कसको घरमा कोही कसको घरमा
भएको साना छाप्रो पनि तहसनहस भएपछि पक्का बस्नका लागि समस्या छ। पक्की घरका छानो कहाँ पुग्यो पत्तो छैन। छाप्रोको नामनिशान पनि भेट्न गाह्रो छ। तुलनात्मक रुपमा पक्की घरमा कम क्षति देखिन्छ। नभत्किएका घरमा मिलेर बस्ने स्थानीय हरिशंकर दासले बताए। मधेशको दुःख काठामाडौंसम्म पुर्याइदिनु भन्दै उनले नेपाल लाइभसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।