रामपुर, पाल्पा- नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता बापतको रकम रामपुर नगरपालिकाले वडा वडाबाट वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन्।
रामपुर नगरपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन आउन जान निकै कठिन परेका बेला वडा वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुसी झल्किएको छ।
बैंकमा घन्टौंसम्म लाइन लागेर वृद्धभत्ता बुझ्दै आएका रामपुर नगरपालिका–४ का ९८ वर्षीय धनबहादुर श्रेष्ठ यस आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित छन्। उनले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा बापतको भत्ता रकम बुझ्दै नगरपालिका र जनप्रतिनिधिलाई धन्यवाद दिए।
'निर्वाचनका बेला भोट माग्न आउँदा वृद्धभत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला विश्वास लागेको थिएन,' उनले भने, 'अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धताअनुसार नै काम सुरु गरेकामा निकै खुसी छु।'
रामपुर नगरपालिका–३ की ९६ वर्षीय लीलादेवी बस्याल पनि वडा वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो लागेको बताउँछिन्।
रामपुर–५ की तेजमाया भण्डारी भने बैंकमा भत्ता लिन जाँदा भिडले पालो नपाएर कहिलेकाहीँ त्यसै फर्किनुपरेको भनाइ छ।
ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै नगरपालिकाले विकट र दुर्गम वडाका विभिन्न स्थानबाट उनीहरुलाई पायक पर्ने गरी सामाजिक सुरक्षा बापतको भत्ता वितरण कार्य सञ्चालन गरिरहेको नगर प्रमुख रमणबहादुर थापाले बताए।
रामपुर नगरपालिकाका विभिन्न वडामा अहिले क्रमैसँग भत्ता वितरण कार्य चलिरहेको छ। कर्मचारीको अभावका कारण भने नगरका १० वटै वडामा एकैसाथ सामाजिक सुरक्षा बापतको भत्ता वितरण गर्न कठिनाइ परेको छ। यसले गर्दा नगरपालिकाले पालैपालोसँग वडा वडाका विभिन्न स्थानबाट सेवा दिँदै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।