नेपालको राजनीति सधैं तरंगित हुने गर्छ । प्राय: रचनात्मक घटनाले भन्दा पनि विवादास्पद कुराले नेपाली राजनीति रोमाञ्चित भइ राख्छ । भनिन्छ, राजनीति सम्भावनाहरुको खेल हो, त्यसैले राजनीतिक चालहरु आइतबार र सोमबार फरक हुने गर्छन्।
एमाले माओवादीले घोषणा गरेका वाम गठबन्धन र एकता होस् वा कांग्रेस सक्रिय भएको लोकतान्त्रिक गठबन्धनको प्रयास होस् । दुवैमा केही स्वार्थ देखिए पनि केही आशा गर्ने ठाउँ पनि छन् । धेरै र छरिएका भन्दा कम तर बलियो राजनीतिक दलहरु हुनुतर्फ अघि बढ्नु राम्रै हो । तर, यो गठबन्धन र तालमेल केवल राजनीतिक जोड-घटाउ मात्र हो भनेर आशंका गर्नेहरुको पनि कमी छैन। खैर, हामीले खोजेको त राजनीतिक स्थायित्व नै हो । अहिले देखिएको तालमेलको राजनीतिले त्यतातिर लैजाओस् भन्ने आश गरौं।
तालमेल र गठबन्धनबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । अनेक कोणबाट विश्लेषण पनि भइरहेका छन् । उत्तरको हावा र दक्षिणको रापले नेपालको राजनीतिले आकार लिने गर्छ भनेर बुझ्दै आएकाहरुलाई पनि पछिल्लो घटनाक्रमले अलमलमा पारिदिएको छ।
पहिला कुरा गरौं, एमाले-माओवादीको चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने उद्घोषको । हुन त यो बृहत् एकताको बाटोमा नयाँ शक्ति पनि थियो । तर, केही दिनमै कुरा नमिलेर डा बाबुराम भट्टराईले सँगै यात्रा नगर्ने निधो गरे । बाबुरामले गोरखाबाट टिकट नपाएकै कारणले गठबन्धन छोडे वा अरु भित्री रहस्य पनि छन्, त्यो उनैलाई थाहा होला । तर, नयाँ शक्तिमा संगठन विस्तार सोचेअनुरुप विस्तार नभएपछि उनले वाम गठबन्धनलाई 'सेफ ल्यान्डिङ'को अवसरको रुपमा प्रयोग गरेको धेरैले प्रतिक्रिया दिएका थिए । तर, उनी ल्यान्ड हुनु अगावै त्यहाँबाट फर्किए।
वाम गठबन्धन हुँदै एकता गर्ने घटनाक्रम नै अलि अपत्यारिलो तरिकाले आएको थियो । अपत्यारिलो यो अर्थमा कि नेपाली कांग्रेस र माओवादीको दोस्ती बढ्दै गएको र एमाले एक्लिएको अवस्था थियो । कांग्रेस-माओवादीको सिद्धान्तमा छेउ टुप्पो नमिलेता पनि कांग्रेसले माओवादीलाई भरतपुर महानगर जिताउन गरेको सहयोगले हेर्दा उनीहरुको गठबन्धन लम्बिने आकलन थियो । तर, यसो हुन सकेन । उनीहरु छुट्टिए।
वाम एकता हुने बित्तिकै कांग्रेस बृहत् लोकतान्त्रिक मोर्चाको तयारीमा लाग्यो, तर ठूलो उपलब्धि हात पार्न भने सकेको छैन । विजय गच्छदारको पार्टीसँग एकता त भयो, तर यो एकतामा नि राजनीतिको चतुर खेलाडी गच्छदारलाई बढी फाइदा देखिएको छ।
विभिन्न 'कन्स्पिरेसी थिएरी' हरुको हवाला दिइयो र वाम गठबन्धनको कारकको रुपमा विदेशी शक्तिलाई मुछ्न काम पनि गरियो । कोही यसलाई नेपाली राजनीतिमा चुपचाप बसेर हस्तक्षेप गर्ने चीनको कम्युनिस्टहरुलाई एक ठाउँ ल्याउने रणनीति भन्छन् । अर्कोतर्फ, भारतले ओलीलाई कमजोर बनाउन लिएको रणनीति भनेर पनि शंका गर्छन्।
एमाले-माओवादी गठबन्धन राजनीतिक स्वार्थ परिपूर्तिको लागि कि राजनीतिक स्थायित्वको लागि हो समयले नै बताउला । तर, यसले केही राजनीतिक बहस भने पक्कै जन्माएको छ । एमालेले माओवादीलाई ४० प्रतिशत हिस्सा दिन तयार हुनु आफैंमा आश्चर्यजनक घटना हो । बलियो संगठन, स्थानीय चुनावमा राम्रो नतिजा पाएको एमाले पहिलो पार्टी हुने ठूलो सम्भावना थियो । तर, शक्ति सन्तुलनमा आउन सक्ने समस्या अनि पार्टीमा निम्तिन सक्ने चुनौतीका बाबजुद पनि यसरी मिल्नुलाई धेरैले अनौठो मानेका छन्।
यी भए सतही रुपमा देखिएका सहमति; दुवै पार्टी स्रोतले भरिएका संगठन हुन्, अबको दिनमा स्रोत कसरी बाँडफाँड हुने भन्ने कुरा पनि कम चुनौतीपूर्ण छैन । माओवादी टुक्रिनुको एउटा कारणलाई पार्टीमा भएको स्रोतहरुमा भएको स्वामित्व पनि हो भन्छन् जानकारहरु । सजिलो बाटो भने पक्कै छैन । अनेक चुनौती छन्।
ओलीले प्रदेश नम्बर २ मा भएको हारले गर्दा सर्वशक्तिमान हुनको लागि यो बाटो रोजे वा अरु केही कारण छन् भन्ने कुरा पनि प्रस्ट भएको छैन । त्यस्तै, अहिलेको टिकट वितरणको प्रणाली हेर्ने हो भने तिनै पुराना नेताहरुलाई जोगाउने एउटा जोड-घटाउको खेल जस्तो पनि देखिन्छ।
यो गठबन्धनले भने नेपाली कांग्रेस भने झस्किएको छ । वाम एकता हुने बित्तिकै ऊ बृहत् लोकतान्त्रिक मोर्चाको तयारीमा लाग्यो तर ठूलो उपलब्धि हात पार्न भने सकेको छैन । विजय गच्छदारको पार्टीसँग एकता त भयो, तर यो एकतामा नि राजनीतिको चतुर खेलाडी गच्छदारलाई बढी फाइदा देखिएको छ । राप्रपा अनि अरु मधेसवादी दलहरुसँग चुनावी तालमेलको प्रयत्न पनि सकिएको छ।
यस्ता राजनीतिक जोड-घटाउले केही सम्भावना र केही प्रश्न पनि उब्जाएको छ । अहिले बन्न लागेका गठबन्धनले देशलाई दुई वा तीन राजनीतिक दल भएको देश बनाउला त ? चुनावपछि बराबर हैसियत कायम भयो भने दलहरु एकताकै बाटोमा अघि बढ्लान् त ? कि राजनीतिक स्वार्थ हावी भएर अस्थिरता नै रहिरहने हो ? फरक एजेन्डा बोकेका दलहरु गुटबन्दी गर्दा कार्यकर्तासँग कसरी भोट माग्लान् ? के यस्तो स्वार्थपूर्ण हिँडाइले वैकल्पिक शक्तिहरुको उदय होला त ? यस्तै, अरु थुप्रै प्रश्न उठ्छन्।
झट्ट हेर्दा दुई तिहाइको लागि बनेको वाम गठबन्धन आगामी दिनमा पार्टी एकतामा परिणत होला या नहोला यसै भन्न सकिन्न।
पुराना नेता जोगाउन तालमेल गरेको जस्तो पनि देखिन्छ, धेरै ठाउँको उम्मेदवारी हेर्दा । जो जता बलियो छ उसलाई फेरि कसरी राजनीतिमै राखिराख्ने भन्ने चाल जस्तो पनि देखिन्छ । युवा नेताहरु यही कारणले पछाडि धकलिने सम्भावना बढेको छ । त्यही पनि उनीहरुले यस्तो खाले एकताको विरोध गरेका छैनन्, खुलेर स्वागत पनि गरेका छैनन्।
यो तालमेल र गठबन्धन कतिको उचित अनुचित, त्यो बारे पनि चर्चा गरिहालौं । माओवादी र एमालेको मिलन स्वाभाविक थिएन । ओलीको माओवादी प्रति कटाक्ष र छुद्र गाली बढ्दो थियो । उनी कांग्रेससँग भन्दा पनि माओवादीसँग बढी आक्रोशित र आक्रामक हुन्थे । माओवादी र एमाले कार्यकर्ताबीच सहज सम्बन्ध थिएन । झट्ट हेर्दा दुई तिहाइको लागि बनेको यो समीकरण आगामी दिनमा पार्टी एकतामा परिणत होला या नहोला यसै भन्न सकिन्न । स्थानीय निकाय चुनावको नतिजाले पनि माओवादी निर्णायक शक्तिको रुपमा उदय भएकाले दुई कम्युनिस्ट एकै ठाउँमा उभिएका हुन सक्छन् । तर, आउने चुनावी परिणामले मात्र केही आकार दिन सक्छ भन्ने कुरामा दुई मत नहोला । किनभने नेपालमा दलहरु मिल्ने र टुक्रिने सामान्य प्रक्रिया हो । वाम र मधेसवादी दलहरु यसमा अझै अगाडि छन्।
जति सहजताका साथ यतिका घटनाक्रम भएका छन्, अबका बाटो झनै जटिल छ । उदाहरणका लागि प्रचण्ड विगत २० वर्षदेखि नेपाली राजनीतिमा सधैं चर्चामा रहे । जनयुद्धपछि त आफ्नो स्वार्थ पूरा गरी छाड्ने राजनीति गर्दै छन् । त्यस्तै, केपी ओली राष्ट्रवादी नेताको छवि बनाउँदै शक्तिशाली हुँदै गएका छन् । अब यी दुई बीच हुने राजनीतिक र व्यक्तित्वको टकरावले पनि धेरै कुरा निर्धारण गर्नेछ।
मेरा एकजना गुरुले सामाजिक सञ्जालमा लेखेका छन्– यो सबै सुविधाको गठबन्धन हो । उनको कुरामा विश्वास गर्ने प्रशस्तै आधार छन् । माओवादीले आफ्नो केन्द्रीय नेता जोगाउने र राष्ट्रिय राजनीतिको केन्द्रमा राखिराख्ने नीति लिएको जस्तो देखिन्छ । ओली पुन प्रधानमन्त्री बन्नको लागि यो गठबन्धनको जन्म भएको बताइन्छ । प्रचण्ड राष्ट्रपति भई सुखद राजनीतिक बहिर्गमन चाहन्छन् भन्नेहरु पनि छन् । त्यसैले पनि यस्ता गठबन्धनको प्राथमिकता जनसेवा नभई स्वयंको सेवा भएको अनुमान गर्न सकिन्छ।
पछिल्लो राजनीतिक घटनाक्रमले केही आशा जगाएको छ । नेपाली कांग्रेसका युवा नेता थापाले भन्ने गर्थे प्रि-इलेक्सन अलायन्स (चुनाव पूर्व हुने गठबन्धन) नेपालको लागि जरुरी छ र यसले एउटा स्थायित्वको बाटोमा डोर्याउँछ । साना दलहरु मिलेर एउटा दल बन्नु वा ठूला दलहरु एउटा ठूलै शक्ति बन्नु भनेको अवश्य पनि राम्रो हो । तर, यदि यो राजनीतिक स्वार्थ र सत्तामा पुग्ने र रहिरहने रणनीति मात्रै हो भने त्यसले देशलाई फाइदा गर्दैन।
तर, यो राजनीतिक संगठन पुन: परिभाषित गर्ने र राम्रो राजनीतिक संस्कार सुरु गर्ने एउटा अवसर पनि हुन सक्छ । वाम एकता कांग्रेसको खस्किँदो लोकप्रियता र पार्टीभित्र व्याप्त गुट उपगुट जस्तो समस्या समाधान गर्ने अवसर भएको भन्छन् कांग्रेसका नेताहरु । कम्युनिस्ट नेताहरु पनि अब देशमा दुई शक्ति मात्र हुने र यसले देशलाई अझ स्थिर बनाउनेमा विश्वास राख्छन् । तर, सबैजना सहमत हुने बुँदा भनेको नेताहरु ठूलो दल बनाएर एकलौटी देश हाँक्ने उद्देश्यमा केन्द्रित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।