काठमाडौं- महेश पौड्यालको कवितासङ्ग्रह ‘शून्य प्रहरको साक्षी’ सार्वजनिक भएको छ। भृकुटीमण्डपमा जारी पुस्तक प्रदर्शनीस्थलमा आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले पुस्तक विमोचन गरे।
अध्यक्ष श्यामलले कविताको भूमि उर्वर र रहस्यमयी भएको भन्दै पौड्यालका कवितामा चित्रमय प्रस्तुति र दार्शनिक चेत रहेको बताए। कविताले समाजलाई सही सौन्दर्यचेत दिन सक्नुपर्ने तथा नेपाली कवितामा नेपाली प्राण र जीवन हुनुपर्नेमा जोड दिँदै उनले भने, 'नेपाली लिपिमा लेखिँदैमा नेपाली कविता हुँदैन, सही संवेदना, दृष्टिकोण र शैली नभएका कविता बन्दैनन्, कविले राम्रो कविताका लागि सधैं अग्रसर रहिरहनुपर्छ।'
अर्का वक्ता साहित्यकार एलबी क्षेत्रीले कविताको अर्थ र बुझाइ मानिसको दृष्टिकोणमा भर पर्ने जनाउँदै ‘शून्य प्रहरको साक्षी’ ले नयाँपन दिएको भनाइ राखे।
कवि डा नवराज लम्सालले पौड्यालका कविताहरु नारा जस्तो नभई समय र संवेदनालाई छुन सक्ने प्रकारको भएको बताउँदै लेखकले लेख्नका लागि लेख्ने नभई लेखकीय र मानवीय दायित्व एवं जिम्मेवारीसमेत बोध गरेर लेख्नुपर्नेमा जोड दिए।
समीक्षक मोमिलाले पौड्यालका कविताहरु वेदका ऋचाजस्तो सुललित र गम्भीर प्रकारका भएको टिप्पणी गरिन्।
कवि पौड्यालले आफ्ना कविताले पाठकसमक्ष विमर्श गर्न चाहेको प्रस्ट्याए। आफूले सिधा भन्ने स्वभाव भएकाले कवितामा बिम्ब र प्रतीकलाई कुन हदसम्म खेलाउन सकियो भन्नेमा स्पष्ट नभएको उनको स्विकारोक्ति थियो।
समालोचना र अनुवाद विधामा समेत कलम चलाउने पौड्यालका १०८ कविता संगृहीत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।