ओखलढुङ्गा- ओखलढुङ्गामा आज जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जिप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ।
ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र ३५ वर्षीय नोर्बु शेर्पाको सनाखत भएको हो। दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाको अझै पहिचान खुल्न सकेको छैन।
चालक कृष्ण श्रेष्ठका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो।
दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी चालक श्रेष्ठ पनि घाइते भएका छन्।
उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।