फाइल फोटो
काठमाडौं- संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेसका सदस्यहरुले सभापति शेरबहादुरसँग थप छलफल गर्नुपर्ने जनाउँदै समय मागेपछि मंगलबारको लागि बैठक सारिएको छ।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाइ प्रक्रियाका लागि आइतबार समितिको बैठक डाकिएको थियो। आज नै समावेशी आयोगमा सिफारिस विष्णुमाया ओझा विरुद्धमा परेका उजुरीमाथि छलफल हुने बताइएको थियो।
कांग्रेसबाट बैठकमा उपस्थित सदस्यद्वय भीमसेनदास प्रधान र जितेन्द्र देवले समय माग गरेपछि बैठक सारिएको हो।
संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएका प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा थपलियाको सिफारिसप्रति सन्तुष्ट हुन सकेका छैनन्। गुल्मी जिल्ला समितिले गरेको कार्यक्रमका लागि उपत्यकाबाहिर रहेका देउवा काठमाडौं नफर्केका कारण उनीसँग छलफल हुन नसकेको सदस्यहरुले बताएका छन्।
सुनुवाइ समितिको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताबिना निर्णय गरिएको भन्दै सदस्यहरुले आपत्ति जनाएका थिए।
संवैधानिक परिषद्ले यसअघि गरेको निर्णयमा पनि देउवाले आपत्ति जनाएका छन्।
माघ ६ बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको थियो। आयोगका अध्यक्षमा भागबण्डा चाहेका देउवालाई उनको माग अनुरुपको सुनुवाइ नभएपछि उनले परिषद्को बैठक बेवास्ता गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।