काठमाडौं- २०७१ सालको अन्त्यमा नेपाली फिल्मको एउटा गीत रातारात भाइरल भयो। भाइरल गीतले फिल्मलाई समेत प्रतिक्षित बनाइदियो। गीत थियो 'पारि त्यो डाडामा घाम लाग्यो रमाइलो' र फिल्म थियो 'रेशम फिलिली'। त्यतिबेला सबैलाई कौतुहलता थियो भाइरल गीतको फिल्म कस्तो होला?
फिल्मको रिलिज मिति तोकियो वैशाख ११ गते। वैशाख ११ गते फिल्म रिलिज भयो। फिल्मले भब्य ओपनिङ गर्यो। फिल्म पंडितहरूलाई भने शुक्रबारको भन्दा शनिबारको व्यापारमा विशेष चासो थियो। बिदाको दिनमा फिल्मले कीर्तिमानी रेकर्ड कायम गर्ने विश्वास गरिएको थियो। तर वैशाख १२ गते नेपालको इतिहासमा अर्कै घटना लेखिन परेको थियो।
करिब ११:५६ बजे गएको भूकम्पले देश हल्लाइदियो। लाखौ घरबार बिहिन र सयौले ज्यान गुनाउन पुगे। भईचालोको भासमा 'रेशम फिलिली' पनि पर्यो। हलहरू महिनौ बन्द भए। फिल्मले व्यापार गर्न पाएनन। उनै फिल्मबाट निर्देशकिय डेब्यू गर्न लागेका प्रणव जोशीलाई त्यसले नमीठो पीडा दियो।
फिल्म पछि अर्के मितिमा रिलिज भएपनि सोचेजस्तो व्यापार गर्न सकेन। तत:पश्चात प्रणव नेपाली फिल्मबाट गुमनाम जस्तै भएका छन्। तर अभ त्यो गुमनामी छिट्टै तोडिने भएको छ। 'नेपाल लाईभ'सँग कुरा गर्दै प्रणवले सो जानकारी दिएका हुन्।
'फिल्म र भूईचालोका कारण मेरा अन्य थुप्रै काम रोकिएर घाटा लाग्यो। त्यसैले गर्दा केहि समय फिल्मबाट टाढा भएको हुँ', उनले भने 'बिचमा फिल्म ने नगरौ पनि भएको थियो तर अब म छिट्टै नयाँ फिल्मको सुटिङमा जाँदैछु। जनवरीबाट फ्लोरमा जाने मेरो योजना छ।'
पेसाले आर्किटेक्ट इन्जिनियर प्रणवले हाल फिल्मको स्क्रिप्टलाई अन्तिम रूप दिने तयारी भइरहेको बताए। उनले आफ्नो अगामी फिल्म एक्सन लभस्टोरी हुने बताए। जोशीका अनुसार फिल्मको बजेट करिब दुई करोड रूपयाँ हुनेछ। कुराकानी चलिरहेको भएपनि फिल्मका कलाकार फाइनल गर्न बाँकी रहेको जानकारी उनले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।