काठमाडौं– पोखरा विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजहरूले प्रावधान विपरीत विद्यार्थी भर्ना लिएको विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
कलेजहरूको लापरबाहीले ३ सय ९१ विद्यार्थीहरू भर्ना हुनबाट वञ्चित भएको भन्दै संघले कलेजहरूमा विरोध गर्दै आएको थियो।
मापदण्ड विपरीत भर्ना लिएको विरोधमा उत्रेका १२ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नवराज त्रिपाठी,मनिष सिम्खडा,चेत राज कँडेल(सुजन),पौल बज्राचार्य,अर्बत खड्का,केयुर न्यौपाने,कृष्ण पुडासैनी,सरोज थापा,प्रशान्त थापा,दिपेश ओलि,निराज घिमिरे र सुरज ऐर छन्।
उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको पक्राउ परेका संघका पूर्व केन्द्रीय सदस्य त्रिपाठीले बताए। प्रहरीले मध्य बानेश्वरबाट नियन्त्रणमा लिएको थियो।
‘विश्वविद्यालयले तोकेको मापदण्ड विपरीत ४२ कलेजले ‘सी’ ग्रेड हासिल गरेका विद्यार्थीहरूलाई मात्रै स्नातकमा भर्ना गनुपर्नेमा मापदण्ड मिचिएको छ,’ पक्राउ परेका त्रिपाठीले भने।
पाँच लाखदेखि सात लाख रुपैयाँ बुझाएर भर्ना भएका विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन्। विश्व विद्यालयले कलेजहरूलाई गरेको परिपत्र गरेको भए पनि कलेजहरूले सो भन्दा कम ग्रेड भन्दा कमलाई भर्ना लिन नपाउने व्यवस्था थियो।
तर, कलेजहरूले ‘डि’ ग्रेड प्राप्त गर्नेहरूको पनि भर्ना लिएका थिए। बिबिएमा अध्ययनरत ३ सय ९१ जनाले परीक्षा दिन नपाउने भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।