काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि पूर्वको यात्रामा रहनेछन्।
झापा र मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
काठमाडौंबाट विराटनगर अवतरण गरेर प्रधानमन्त्री ओलीले आज दिउँसो सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नेछन्।
यसैगरी अपराह्न ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको दमक नगरपालिका परिसरमा आयोजना हुने प्रदेशन नं १ स्तरीय साहित्यिक/प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गर्नेछन्।
प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी रंगशाला सम्बन्धी सरोकारवालासँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री ओलीले गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ।
यसैगरी भोलि बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। त्यसपछि प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्ने कार्यक्रम छ।
भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिकास्थित स्कुलचौन माविको भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओली भोलि दिउँसो साढे १२ बजे सहभागी हुनेछन्। त्यसपछि प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।