दिनेश शर्मा/राजविराज– एसइईलाई अमर्यादित बनाएको आरोपमा पक्राउ परेका केन्द्राध्यक्षसहित ८ जनालाई सप्तरी प्रहरीले मुद्दा चलाएको छ।
एसइई र सप्तरीको अवस्थाका विषयमा जानकारी दिन जिल्ला परीक्षा समन्वय समितिले जिल्ला प्रहरी कार्यालयमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसपी राजेन्द्र विष्टले पक्राउ परेकालाई मुद्दा चलाइएको जानकारी दिए। मर्यादित रुपमा परिक्षा सञ्चालन गर्न नसकेको आरोपमा गत बुधवार मावि बनरझुला केन्द्रका केन्द्राध्यक्ष रामअवतार गुप्ता, सहायक केन्द्राध्यक्ष देवनारायण मण्डल, निरीक्षकहरु मनोजकुमार चौधरी, रामसुन्दर चौधरी, लगेन्द्रप्रसाद चौधरी र रामानन्द चौधरीसमेतलाई प्रहरीले नियन्त्रण गरेको थियो।
अन्य २ सहित आठै जनालाई शिक्षा ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाइ छ। शिक्षा ऐनमा ६ महिना कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
सोही केन्द्रबाट पक्राउ परेका विद्यार्थीलाई भने प्रहरीले रिहा गरेको थियो। प्रविधिको दुरुपयोग गरी परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अन्य ६ जना सर्वसाधारणलाई सामान्य मुद्दा चलाइएको एसपी विष्टले बताए।
‘परीक्षार्थीलाई निस्कासन गरेर छोडिएको छ। सामान्य गल्ती गर्ने निरीक्षक समेतलाई निस्कासनको कारबाही भयो,’ एसपी विष्टले भने, ‘तर, अक्षम्य गल्ती गरेको पाइएपछि परीक्षा समितिको निर्णय बमोजिम नै केन्द्राध्यक्ष सहितका ८ र अन्य ६ जनालाई नियन्त्रणमा लिई कारबाही सुरु गरिएको छ।’
केन्द्रमा फेसबुक म्यासेन्जर, व्ह्वाट्सएप, इमो, भाइबर लगायतका प्रविधिमार्फत चोरी हुने गरेको पाइएको थियो।
विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अवागै आउट भएपछि आजदेखिका परीक्षा प्रदेश २ मा स्थगन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।